
संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन अमेरिका पुगेका दुवै देशका प्रधानमन्त्रीबीच आज बिहान द्विपक्षीय भेटवार्ता भएको हो ।
दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित टोते न्युयोर्क प्यालेस होटलमा भेटवार्ता हो ।
भेटपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले भेटवार्ता सकारात्मक भएको बताए ।
यसैगरी, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पनि दुई देशका प्रधानमन्त्रीबीचको भेटवार्ता सौहार्दपूर्ण भएको बताइन् ।
भारतीय प्रधानमन्त्री मोदीले चाँडै नेपालको भ्रमण गर्ने जानकारी दिएको उनको भनाइ थियो ।
दुई प्रधानमन्त्रीबीचको भेटमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री राणा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, नियोगका प्रतिनिधि (राजदूत) लोकबहादुर थापा तथा भारतका तर्फबाट विदेशमन्त्री एस जयशंर, विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीलगायत सहभागी थिए ।