०५ साउन २०८३, मंगलबार
सहकारी ठगी प्रकरण

प्रहरी हिरासतमै बर्बराउँछन् छवि : बयानमा भने– रविलाई समातेपछि मात्र सबै कुरा खुल्छ

ढाकाकुमारले प्रहरीलाई सोधे- रविलाई कहिले ल्याउने ?
असोज ८, २०८१
काठमाडौं
प्रहरी हिरासतमै बर्बराउँछन् छवि : बयानमा भने– रविलाई समातेपछि मात्र सबै कुरा खुल्छ

सहकारी संस्थाको रकम अपचलनको आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी बन्जाडे तीन दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् । 

गोरखा मिडिया नेटवर्कका तत्कालीन अध्यक्ष गितेन्द्रबाबु राई (जीबी राई) र प्रबन्ध निर्देशक रवि लामिछानेका पार्टनर छविलाललाई प्रहरीले गत आइतबार पक्राउ गरेको थियो ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अवैध ढंगले गोरखा मिडियामा ल्याएर अपचलन गरेपछि व्यापारिक साझेदारका रूपमा छविलाललाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाइएको हो । 

कास्की प्रहरीको हिरासतमा रहेका छविलाल बेला बेलामा रुँदै बर्बराउँछन् । ‘जीबी र रविसँग लाग्दा फसें’ भन्दै उनी हिरासतमै बर्बराउने गरेको कास्की प्रहरीका एक प्रहरी अधिकृतले लोकान्तरलाई बताए । उनले बयानमै पनि सबै काम जीबी र रविले गरेको भन्दै आफ्नो कुनै गल्ती नभएको बताएका छन् । ‘भाइ मेरो कुनै गल्ती छैन, सबै काम जीबी र रविको हो । मिडिया खोल्ने विषयमा म त्यति जानकार पनि थिइँन,’ ​छविलाई उद्धृत गर्दै ती प्रहरी अधिकृतले लोकान्तरसँग भने, ‘जीबी र रविलाई समातेपछि धेरै कुराको पर्दाफास हुन्छ ।’ 

हिरासतमा रहेका छविलालले खाना पनि मन लगाएर नखाएको उनले बताए । काठमाडौंमा पक्राउ गर्न आएका प्रहरीलाई उनले ‘पैसा खर्च गर्ने हर्ताकर्ता रवि र जीबी’ भएकोले पहिला उनीहरूलाई समात्नु पर्ने बताएका थिए । प्रहरी हिरासतमा पनि उनले जीबी र रविजस्ता खराब व्यक्तिको संगतले आफू डुबेको बताउने गरेका छन् ।  

पूर्व डीआईजी छविलाल जोशी बन्जाडे ।

‘जीवनभर राज्यको सेवा गरेर अवकाश भएपछि पनि चयनले बस्न पाइनँ, जीबी–रविको संगतले गर्दा म डुबें’ उनले प्रहरीसँग गुनासो गरिरहन्छन् । कास्की प्रहरीले सहकारी ठगी र संगठित अपराध मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याद पाएको छ । मंगलबार छविलाललाई सरकारी वकिल कार्यालयमा बयानका लागि लगिएको छ । 

रविकै पार्टीका तत्कालीन समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठ पनि अहिले कास्की प्रहरीकै हिरासतमा छन् । चिकित्सकको प्रस्क्रिप्सनबिनै औषधि पसलबाट ​मनोद्विपक पदार्थ बिक्री गरेको आरोपमा उनी पक्राउ परेका हुन् । 

ढाकाकुमारविरुद्ध प्रहरीले लागुऔषध बेचबिखन तथा ओसारपसार मुद्दामा अदालतमा म्याद थपेर अनुसन्धान गरिरहेको छ । लागुऔषध मुद्दामा प्रहरीले ९० दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । 

प्रहरीले ढाकाकुमार र छविलाललाई सँगै हिरासतमा राखेको छ । हिरासत कक्षका एक प्रहरी जवानका अनुसार छविलालले ढाकाकुमारलाई भन्दै थिए, ‘हुन त तपाईँ रविकै पार्टीबाट पहिला समानुपातिक सांसद बन्नुभएको थियो, पछि पैसाको लेनदेन गरेको आरोप लगाएर तपाईँलाई हटाए । तर, रवि गतिलो मान्छे रहेनछ ।’ 

जवाफमा ढाकाकुमारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नै गतिलो नभएको बताएका थिए । ढाकाकुमारले ‘चेक काट्ने रवि, पक्राउ पर्ने तपाईँ’ भन्दै छविलाललाई प्रश्न गरेका थिए । छविलालले रविलाई पक्राउ गरेर अनुसन्धान नगरी यो मुद्दाको छिनोफानो नै नहुने भन्दै ढाकाकुमारलाई ढुक्क हुन आग्रह गरेका थिए ।

हिरासतमा ढाकाकुमार र छविलालले धेरै गलफती गरेपछि ठूलो स्वरले नबोल्न प्रहरीले सुझाएका थिए । प्रहरीले ठूलो स्वरमा नबोल्न आग्रह गरेपछि ढाकाकुमारले सोधिहाले– ‘रविलाई कहिले ल्याउनुहुन्छ ? उहाँसँगै हिरासतमा बस्न मन छ ।’ छविलालले आफूविरुद्ध लगाइएको मुद्दा चाँडो टुंगो लगाएर ‘रिलिज’ गराउन प्रहरीसँग आग्रह गर्दै आएका छन् । 

हिरासतमा बसेका छविलाललाई प्रहरीले ‘डीआइजी साब’ भनेर सम्बोधन गर्छन् । जवाफमा छविलालले ‘के गर्छौ भाइ कहिलेकाहीँ नखाएको विष पनि लाग्ने रहेछ । मैले नजानेको क्षेत्रमा प्रवेश नै गर्न नहुने रहेछ,’ छविलालले भन्ने गरेका छन् ।

छविविरुद्ध संगठित मुद्दा चलाइएपछि स्वतः तानिन्छन् रवि 

कास्की प्रहरीका अनुसार छविलालविरुद्ध सहकारी ठगी र संगठित मुद्दा लगिएपछि रवि स्वतः अनुसन्धानको दायरामा तानिने भएका छन् । छविले बयानमा रविलाई पोले भने उनलाई पक्राउ गरेर मुद्दा चलाउनुको विकल्प नभएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए । उनले लोकान्तरसँग भने, ‘छविले बयानमा रविलाई पोले भने उनलाई पक्राउ गरेर मुद्दा चलाउनुको विकल्प छैन । जतिबेला आदेश आउँछ, उतिबेलै रविलाई पक्राउ गर्छौं ।’

रविमाथि शुरूदेखि अनुसन्धान भएपछि मात्रै उनी दोषी हुन् वा होइनन् भन्ने कुरा अदालतले छुट्याउने ती प्रहरी अधिकृत बताउँछन् । त्यसो त छविले आइतबार पक्राउ पर्दै गरेका बेला पनि रवि र जीबीको नाम लिएका थिए । ‘दोषी त रवि र जीबी हुन्, मलाई मात्रै किन समातेको ? रविलाई पनि समात’ भन्दै छविलालले प्रहरीलाई भनेका थिए । 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापाले छविलाललाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय लगिएको बताए । ‘सहकारी ठगी र संगठित अपराधमा म्याद थप गरिएका छविलाई बयानको लागि सरकारी वकिल कार्यालय लगिएको छ, हामी अनुसन्धान गर्दैछौं,’ उनले लोकान्तरसँग भने । 

कास्की प्रहरीले सहकारी समितिले छविलालसँग लिएको बयान र उनीविरुद्धका प्रमाणलाई समेत केलाएर ‘भेरिफिकेशन’ गर्दैछ । ‘हामीले सहकारी छानबिन समितिको प्रतिवेदन अध्ययन गर्दैछौं,’ एसपी थापाले भने, ‘त्यहाँ उल्लेख गरिएका विषय र प्रमाणलाई पनि आधार बनाउँछौं ।’ 

रविलाई पक्राउ गर्न दबाब

रविका पार्टनर छविलाल पक्राउ परेसँगै रविलाई पनि पक्राउ गर्न प्रहरीलाई दबाब छ । छवि पक्राउ परेलगत्तै पोखरामा सहकारी पीडितहरूले प्रदर्शन गर्दै रविलाई पनि पक्राउ गर्न माग गरेका थिए । ‘छवि पनि दोषी हो, रवि पनि दोषी हो’ भन्दै पीडितहरूले प्रदर्शन गर्दै उनीहरूलाई पनि पक्राउ गरी आफूहरूलाई न्याय दिन माग गरेका थिए । 

तर, रविले भने आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् । आइतबार राति पार्टी कार्यालय वनस्थलीमा आक्रोशपूर्ण शैलीमा रविले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले आफू निर्दोष रहेको बताइसकेपछि समितिको प्रतिवेदनको औचित्य नभएको बताएका थिए । 

प्रहरीका एक उच्च अधिकृतका अनुसार त्यसदिन रविले आत्तिएर भीड उतारेका थिए । उनले प्रहरी महानिरीक्षक, गृहमन्त्री र सत्ता पक्षकै नेताहरूलाई समेत फोन गरेका थिए । प्रहरीले तत्काल उनलाई पक्राउ नगरे पनि निगरानी भने गरिरहेको छ । 

सहकारी ठगी सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले गोर्खा मिडियामा आएको सहकारीको ६५ करोड रुपैयाँ खर्च गर्ने क्रममा मिडियाका अध्यक्ष जीबी, सञ्चालक समिति सदस्य कुमार रम्तेल र छविलाल जोशी तथा तत्कालीन प्रबन्ध निर्देशक लामिछानेको संलग्नता रहेको भन्दै प्रचलित कानुन बमोजिम कारबाहीका लागि सरकारलाई सिफारिस गरेको थियो ।

कमेन्ट गर्नुहोस्