
दाङमा चाडपर्व लक्षित सुपथ मूल्यका पसल सञ्चालनमा ल्याइएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुर र साल्ट्रेडिङ कर्पोरेसन घोराहीले सुपथ मूल्य पसल सञ्चालन गरेका हुन् ।
यस वर्ष चामल, नुन र चिनी बिक्रीका लागि राखिएको साल्ट ट्रेडिङ कर्पोरेसन घोराहीले जनाएको छ ।
चाडपर्व लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत पसल सुरु गरेपछि स्थानीय उपभोक्ता खुसी भएका छन् ।
सङ्घीय सरकारको निर्णयअनुसार दाङमा यही असोज ७ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको हो ।
घोराही उपमहानगरपालिका- १८ की सीता चौधरीले घोराहीमा खुलेको सुपथ पसलमा सामान किन्दा प्रतिकिलो रु पाँच सस्तो पाएको बताइन् ।
'ज्याला मजदुरी गरेर खाने मान्छेलाई एक दुई रुपैयाँ सस्तो पाउँदा पनि खुसी लाग्ने रहेछ,' उनले भनिन्, 'प्रत्येक वर्ष सञ्चालन हुने सुपथ मूल्य पसलमा सामान किन्न आउने गरेको छु ।'
पसलमा नुन, चिनी मात्रै राख्ने गरेकोमा अन्य उपभोग्य सामग्री पनि राख्न उनको सुझाव छ ।
साल्ट ट्रेडिङका ‘आउटलेट’बाट नुनमा प्रतिकेजी रु दुई, चिनीमा रु पाँच, तेलमा रु सात, चिउरामा रु सात, पिठो र मैदामा पनि रु सात छुट दिइरहेको घोराहीका प्रमुख रामबाबुप्रसाद गुप्ताले जानकारी दिए ।