साउन ३२, २०८०
मितिः १७ फागुन २०७४ । स्थानः नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय, काठमाडौं । समयः मध्याह्न । सई बालकृष्ण सञ्जेलको मोबाइलमा घण्टी बज्यो । उनले फोन उठाए । अपरिचित नम्बरबाट फोन गर्ने व्यक्तिले सिधै...
काठमाडाैं | असोज ९, २०८१
संसदीय छानबिन विशेष समितिले सहकारीको बचत रकम अपचलन सम्बन्धमा सरकारलाई कार्यादेशसहित बुझाएको प्रतिवेदन सार्वजनिक भएपछि ‘सहकारी ठगीको जालो’ कहाँसम्म पुगेको रहेछ भन्ने चित्र देखिएको छ ।
आइतबार गोरखा मिडिया नेटवर्कसँग जोडिएका पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेतिर पनि यसको सुई घुमेको छ ।
सूर्यदर्शनलगायत सहकारीका बचतकर्ताको बचत रकम हिनामिना गरेको आरोप लागेका गितेन्द्रबाबु राई (जीबी) फरार छन् ।
जीबी राई अध्यक्ष रही ‘ग्यालेक्सी फोरके’ टेलिभिजन सञ्चालनका लागि सहकारीबाट लगानी गरिएको तथ्य भेटिएपछि लामिछानेमाथि पनि प्रतिवेदनले प्रश्न गरेको छ । सहकारी र नेटवर्किङ व्यवसाय (हर्बो)मा रमेका जीबी कसरी एकाएक सञ्चार उद्योगतिर मोडिए भन्ने कथा लामै छ ।
छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदन पृष्ठः ३५२/५३ मा जीबी सञ्चार उद्योगमा कसरी प्रवेश गरे भन्नेबारे केही तथ्य उल्लेख छ । तर, त्यसको भित्री कथा झन् चाखलाग्दो छ । प्रतिवेदनमा भनिएको छ, ‘त्यतिबेला न्यूज २४ मा रवि लामिछानेको कार्यक्रम ‘सिधा कुरा जनतासँग’ निकै स्थापित र लोकप्रिय थियो । संवत् २०७३ चैतबाट प्रशारण शुरू भएको एपीवान टेलिभिजनमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापासँग व्यावसायिक साझेदारीमा जीबी राई देखिएका थिए ।
राई कतारमा भएको एपीवान टेलिभिजनको एक कार्यक्रममा उपाध्यक्षको हैसियतमा भाग लिएको भिडियो अहिले पनि सार्वजनिक रूपमा उपलब्ध छ ।
त्यतिबेला नै काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि.बाट एपीवानमा कर्जा समेत प्रवाह भएको देखिन्छ ।
एपीवानमा कुरा नमिली सम्बन्धमा दरार आएपछि जीबी राई नयाँ टेलिभिजन खोल्ने उद्देश्यसहित न्यूज– २४ मा सिधा कुरा जनतासँग कार्यक्रममार्फत अलग्गै छवि बनाइसकेका रवि लामिछानेसँग सम्पर्कमा पुगेको देखिन्छ ।’
सहकारीसँग जीबी राईको सम्बन्ध पारिवारिक हुँदै गाँसिएको देखिन्छ । विशेष गरी डीबी र ज्ञानबहादुर बम्जनले चलाएको गोरखा विकास बैंक, सहकारी, नेटवर्किङ व्यवसाय र ‘गोरखा ग्रुप’सँग जीबीको पारिवारिक साइनो गाँसिएपछि उनको पेशा/व्यवसायले व्यापकता पाएको थियो ।
बम्जनकी ठूलीकान्छी बहिनी भगवती बम्जनसँग जीबीले दोस्रो विवाह गरेपछि बम्जन परिवारले जीबी र भगवतीको वैवाहिक सम्बन्धलाई लामो समयसम्म अस्वीकार गर्यो ।
जीबीको ओखलढुंगामा पहिल्यै विवाहित भई एक छोरा समेत थिए । भगवतीलाई वैधानिक बनाउन जीबी राईलाई हम्मेहम्मे परेको थियो । विस्तारै उनको सम्बन्ध भगवतीले माइती खलकसँग जोड्दै लगिन् । त्यसपछि जेठान ज्ञानबहादुर बम्जनले २०६७ सालमा जीबीलाई पोखराको सूर्यदर्शन सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लि. जिम्मा दिए ।
जीबी राईले जीबी ग्रुप अफ कम्पनी प्रा.लि, गोरखा ग्रुप अफ कम्पनी लि., नेचर हब प्रा.लि, नेचर नेस्ट प्रा.लि., हर्बो इन्टरनेसनल प्रा.लि, गोरखा आयुर्वेद प्रा.लि, गुप्ती टी इस्टेट प्रा.लि, गोरखा मिडिया प्रा.लि.लगायतका विभिन्न कम्पनी सञ्चालन गरिरहेका थिए । यसमा कतिपय नेटवर्किङमा आधारित थिए ।
‘जीबीको व्यवसाय नेटवर्किङ हो’ भनी कान्तिपुर दैनिकमा हाल अमेरिकामा रहेका राई थरका एक पत्रकारले धाराबाहिक समाचार लेखे ।
त्यसपछि प्रहरीले जीबीको व्यवसायप्रति अनुसन्धान थाल्यो । त्यहीबेला छविलाल जोशीसँग जीबीको सम्बन्ध गाँसियो । कान्तिपुरको समाचारबाट आजित बनेका जीबीलाई सञ्चार उद्यमी बन्ने मोह जाग्यो । त्यही बेला रामेश्वर थापा कान्तिपुर मिडिया ग्रुपबाट बाहिरिएर अन्नपूर्ण दैनिक र एपीवान टेलिभिजन सञ्चालन गरेका थिए ।
एपीवानले अन्तर्राष्ट्रिय ‘फ्रेन्चाइज रियालिटी शो’ ‘नेपाल आइडल’ सञ्चालन गरेपछि त्यसको चर्चा राम्रो थियो । त्यहीबेला जीबीले एपीवानमा २ करोड रुपैयाँ लगानी गरेको जीबी निकटहरू बताउँछन् ।
उक्त रकम स्वर्णलक्ष्मी सहकारीबाट गएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
‘त्यो २ करोड रुपैयाँ जीबीको शेयरमा भन्दा पनि एपीवानले जीबीको कम्पनीहरूबाट उत्पादित वस्तुको विज्ञापन बजाएर कटाएको हो’, जीबीनिकट स्रोतले भन्यो । २ करोड रुपैयाँ विज्ञापनमा कटाइदिएपछि थापासँग जीबीको सम्बन्धमा दरार आएको थियो ।
पहिलो नेपाल आइडलको ग्रान्ड फिनाले कतारमा आयोजना गरियो । त्यहाँ रामेश्वर गएनन् । त्यो कार्यक्रममा जीबी कतार गए । एपीवान टेलिभिजनको उपाध्यक्षका रूपमा जीबी मञ्चमा उपस्थित भएका थिए ।
जीबी एपीवानसँग सम्बन्धित भनी देखिएको भिडियो त्यही बेलाको हो । कान्तिपुरमा प्रकाशित समाचारप्रतिको ‘इगो’ र एपीवानमा व्यावसायिक साझेदारीबाट बिच्किएपछि जीबी प्रभावकारी सञ्चार उद्योग सञ्चालन गर्ने निर्णयमा पुगे । उनले अनलाइन सञ्चालनमा ल्याए । अनलाइनले खासै लय लिन सकेन ।
‘ग्यालेक्सी फोरके’लाई प्रिमियम टेलिभिजन बनाउन सकिन्छ भनेर जीबीलाई रविसँग विज्ञापन एजेन्सीमा काम गर्ने शम्भु गुरागाईंले भेट गराइदिएका थिए । शम्भु र रविले टेलिभिजनलाई ‘प्रिमियम’ बनाउन सकिन्छ भन्ने परियोजना बनाए । मिडियाबाट शक्ति आर्जन गर्न, समाजमा अग्लो इज्जत बनाउन, अन्य व्यापार/व्यवसाय गर्न सहज हुने आशामा जीबी थिए ।
‘ग्यालेक्सी फोरके’को शुरूआति दिनको ‘कलाइमेक्स’ देखेका एक भुक्तभोगी भन्छन्, ‘टेलिभिजनको कार्यालयमा वास्तु मिलेन भनेर रिसेप्सन नै ४ पटक भत्काएर नयाँ बनाइयो । २ लाख जति भाडा तिर्नुपर्ने घर थियो । तर, संरचना र स्टुडियो बनाउँदा ४ करोडभन्दा बढी खर्च भयो । कम्पनीभित्रकैले कमिसन खाएपछि त्यति धेरै खर्च भएको हो । रवि, शम्भु र विपिन आचार्यले ग्यालेक्सी टीभी आएपछि अरू टीभी बन्द हुन्छन् । विज्ञापन सबै हाम्रोमा आउँछ भन्ने सपना जीबीलाई देखाउँथे ।’
जीबीको गाडी आउँदा कार्यालयका सबै विभाग प्रमुख गेटमा पुगेर उनलाई स्वागत गर्थे । गेट बाहिर २/३ सय सर्वसाधारणको भीड हुन्थ्यो । त्यो भीड जीबीलाई हेर्न र भेट्न आएको भने होइन । ती व्यक्ति भन्छन्, ‘जीबी अफिस आउँदा गेटको भीड देखेर निकै उत्साहित हुन्थे । त्यो भीड जीबीलाई नभएर टीभीका हर्ताकर्ता रविलाई भेट्न आउनेको हुन्थ्यो । भीडले रविलाई राजनीतिमा जाने हुटहुटी बढाइदियो । रवि भीडको पछाडि लागे । टीभी भने डुब्यो ।’
टीभीमा शुरूआति दिनमा कान्तिपुर र एपीवानका पत्रकार तथा व्यवस्थापकलाई जति दिनु परे पनि तान्ने नीति थियो । ‘कान्तिपुर टीभीबाट आएका पत्रकार भनेपछि सामान्य रिपोर्टरलाई पनि ८० हजार रुपैयाँदेखि तलब शुरू हुन्थ्यो । त्यही क्रममा एपीवानका व्यवस्थापकलाई पनि ल्याइएको हो’, उनले भने ।
टीभी शुरू गर्न शुरूमा जीबीले आफ्नो बैंक खाताबाट २६ करोड दिएका थिए । त्यो पैसाले अपुग भएपछि उनी सहकारीको पैसा तान्नतिर लागेका थिए । सहकारीलगायत जीबीले सञ्चालन गरेका कम्पनीमा कुमार रम्तेलको हालिमुहाली चल्थ्यो । यता टीभीमा रविपछि दीपक बोहोराको निर्णय बढी सुनिन्थ्यो ।
‘कुमार छेउमा आउँदा नम्र देखिने अनि पाइलैपिच्छे कागजपत्र दुरुस्त बनाउन सक्ने क्षमताका थिए’, जीबीनिकट ती व्यक्तिले भने, ‘कसैले गरेको हस्ताक्षर दुरुस्तै गरिदिएर निवेदन, फाइल तयार गर्न सक्ने व्यक्ति हुन्, कुमार रम्तेल । जीबीको सहकारी र कम्पनीमा काम गर्दा उनै कुमारले एउटै जग्गालाई ६ ठाउँमा बेचबिखन गरेको देखाएर आफ्नो नेटवर्क सेट गरेका थिए ।’
सहकारीको पैसा गोरखा मिडियामा ल्याउने कामको व्यवस्थापन कुमारले नै मिलाएका थिए । ‘सहकारीबाट गोरखा मिडियाको खातामा पैसा आयो । रविसहितको नाममा पैसा डिपोजिटको व्यवस्था सबै कुमारले मिलाएका हुन्,’ स्रोतले भन्यो ।
रवि निस्किने बेला खरो स्वभावका पत्रकार टीकाराम राई ‘ग्यालेक्सी फोरके’ टेलिभिजनमा सल्लाहकारका रूपमा आएका थिए । टीकाराम रवि हुँदासम्म खासै कार्यालयमा नदेखिएको ती व्यक्ति बताउँछन् । रवि निस्किएपछि टीकारामले आफ्नो शैलीमा काम अघि बढाए । रवि हुँदासम्म टीभीको अप्रेशन खर्च मासिक १ करोड ८५ लाख रुपैयाँ थियो । आम्दानी १ करोड ५५ लाख रुपैयाँसम्म हुन्थ्यो ।
टीकाराम गएपछि उनले कर्मचारी कटौती गरेर खर्च ९३ लाख रुपैयाँमा झारिदिए । धेरै कर्मचारी कटौती गरेपछि जीबी रिसाएका थिए । संयोग कस्तो भयो भने रवि रहँदासम्म युट्युबबाट मासिक २५ लाख हाराहारीमा ‘रेभिन्यु’ आउँथ्यो । रविले छाडेको एक महिनामा त्यो घटेर आधामा झरेको थियो ।
‘रवि निस्किएपछि व्यावसायिक सम्झौतापत्रहरू हेर्दा हामी छक्क पर्यौं । सम्झौताका बुँदामा रवि लामिछानेको ब्रान्डिङका कारण यो विज्ञापन दिइएको छ भनेरै उल्लेख गरिएको हुन्थ्यो’, जीबीनिकट ती व्यक्तिले भने ।
टेलिभिजनमा प्राविधिकहरूले एउटा सफ्टवेयर पाकिस्तानबाट किनेर चलाएका थिए । त्यसबापत प्राविधिक टीमले कमिशन खाने गर्थ्यो ।
टीभीमा आएको पैसा धेरै लिनेमा रास्वपाका सहमहामन्त्री विपिन आचार्य पनि थिए । उनले नोबडी प्रोडक्सनबाट अन्तर्राष्ट्रिय कार्यक्रमको ‘फ्रेन्चाइज’ लिने र त्यो ग्यालेक्सी फोरके टेलिभिजनलाई बेच्ने गर्दथे । त्यसबापत ठूलै रकम विपिनको कम्पनीको खातामा गएको देखिएको छ ।
केही समय अनलाइन सञ्चालन गरिसकेका जीबीलाई रेडियो पनि सञ्चालन गर्ने प्रस्ताव रविको टीमले गरेको थियो । सोही कारण रविका ससुराको गोपीकृष्ण कम्पनीले चलाएको एफएमको लाइसेन्ससमेत जीबीलाई खरिद गर्न लगाइएको खुलेको छ ।
रविले मासिक ६ लाख रुपैयाँ तलब बुझ्ने गरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । त्यहाँ ३ देखि ५ लाख रुपैयाँ तलब बुझ्ने अन्य कर्मचारीहरू पनि थिए । रवि व्यावसायिक साझेदार भएकाले बैंकबाट ऋण लिनका लागि आम्दानी देखाउन सबै तलब टीभीबाट सिधै बुझ्ने गरेका थिए । ३ देखि ५ लाख रुपैयाँ तलब लिने अन्यले भने १ लाख रुपैयाँ सिस्टमबाट लिने र बाँकी जीबीको खाताबाट लिने भनी सम्झौता गरेका थिए ।
‘३ देखि ५ लाख रुपैयाँसम्म पाउने अरू विभागीय प्रमुखहरू पनि थिए । चलाखी हो वा कर छल्न, उनीहरूले १ लाख कम्पनीबाट र अरू रकम जीबीको खाताबाट बुझ्थे’, ती व्यक्तिले भने, ‘यतिसम्म भयो कि समाचार स्रोतका लागि भनेर दैनिक ५५/६० हजार खर्च गरेका ठूल्ठूला रेस्टुरेन्ट, होटलको बिलसमेत कम्पनीले पेमेन्ट गर्नुपर्ने बाध्यता थियो ।’
पछि टीकाराम राई सीईओ भएर आएपछि कुमार रम्तेलसँग झगडा पर्यो । कारण थियो, सवारी साधनको इन्धन खर्च । कुमारले मासिक ३ सय लिटर इन्धन सुविधा टेलिभिजनबाट लिन्थे । कडा स्वभावका टीकारामले त्यो कटाइदिए । कुमार झगडा गर्न आएपछि टीकारामले ‘टेलिभिजनको दैनिक काममा नभएकाले तेल दिन्नँ’ भनेर अडान लिए । पछि कुमारले तेल पाउनका लागि जीबीमार्फत आफूलाई ‘कार्यकारी उपाध्यक्ष’ भन्ने चिट्ठी लिएर आए ।
बालुवाटारको एक ग्यारेजमा सबैको गाडी मर्मत हुन्थ्यो । सभामुखनिवास जानेभन्दा बायाँतिरको पेट्रोल पम्पमा चीटको भरमा तेल भर्ने व्यवस्था थियो । ती व्यक्ति भन्छन्, ‘ग्यारेजमा गाडी लगेपछि थोरै स्क्राच भए पनि पूरै नयाँ फेरिदिने गर्थे । पैसा त्यहाँ पनि धेरै गयो । बालुवाटारको पेट्रोल पम्पलाई अझैसम्म १२ लाख रुपैयाँ तिर्न बाँकी छ ।’
कुनै ठूला नेताको टीभी अन्तर्वार्ता हुने तालिका देखेपछि जीबी नेता भेट्न कार्यालयमा आउँथे । सातैपिच्छे रातभर जीबी र रविको ‘कर्पोरेट मिटिङ’ बानेश्वरको रेजिस्पोन वा बालुवाटरकै टाइमस्क्वायर रेस्टुरेन्टमा हुन्थ्यो । ‘रातभर बस्न सक्ने, मान्छेलाई प्रभाव पार्न सक्ने क्षमता जीबी र रवि दुवैमा छ’, ती व्यक्तिले भने ।
स्थानीय चुनाव सम्पन्न भएको ३ महिनापछि रवि टेलिभिजन छाडेर एक शक्तिपीठ दर्शन गर्न पुगे । त्यसपछि धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङलाई भेट्न पुगे । ‘रवि शक्तिपीठहरूप्रति विश्वास गर्छन्, पूजापाठ गर्छन्,’ ती व्यक्तिले भने ।
जीबी अहिले फरार सूचीमा छन् । रविले चुनाव जितेपछि जीबीसँग एकपटक भेट भएको थियो । आँटिला जीबीले ३ अर्ब रुपैयाँ जति सहकारीबाट आफ्ना विभिन्न कम्पनीका नाममा चलाएको ती व्यक्ति बताउँछन् ।
सुरा–सुन्दरीमा समेत भुल्ने जीबीले पछिल्लोपटक कान्छी श्रीमतीसँग पनि सम्बन्धविच्छेद गरिसकेको स्रोतको दाबी छ ।
‘बूढीलाई नयाँ–नयाँ ब्रान्डका मोबाइल, घडी, कपडा, पर्फ्युम, मीठा खानपिन र ठूला रेस्टुरेन्टका लागि जीबीले अभावमा राखेनन् । अहिले चल्तीमा भनिएजस्तै सहकारी ठगी छल्न गरिएको भए अलक कुरा, उनले कान्छी श्रीमतीसँग पनि डिभोर्स गरिसकेका छन् ।’
सञ्चार उद्यमी बन्छु भन्ने जीबीको सपना रविको देश चलाउने मोहको चपेटामा पर्यो । अहिले उनीहरूको बाटो छुट्टाछुट्टै छ । तै पनि रविको राजनीतिक जीवनलाई समेत खल्बल्याउने गरी घटनाक्रम अघि बढिरहेका छन् ।
अर्कातिर जीबी फरार छन् । ‘आँटिला र जुनसुकै परिस्थितिको सामना ढुक्कसँग गर्ने क्षमता जीबीमा छ । आफ्नै समाचार सुनेर कुनै योजना बनाएर बसेको हुन सक्ने मलाई लाग्छ,’ जीबीलाई नजिकबाट चिन्ने ती व्यक्तिले भने ।
मितिः १७ फागुन २०७४ । स्थानः नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय, काठमाडौं । समयः मध्याह्न । सई बालकृष्ण सञ्जेलको मोबाइलमा घण्टी बज्यो । उनले फोन उठाए । अपरिचित नम्बरबाट फोन गर्ने व्यक्तिले सिधै...
सहकारी ठगी सम्बन्धमा छानबिन गर्न गठित संसदीय समितिले गोर्खा मिडिया नेटवर्कमार्फत सहकारीको रकम दुरुपयोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई यथेस्ट प्रमाणसहित दोषी करार गरेको पाइएको छ । शु...
गत वर्ष झण्डै एक करोड रुपैयाँमा ठेक्का लागेको पोखरा महानगरपालिका वडा नम्बर– ३३ स्थित चमेरे घाटमा यसपटक विनाठेक्का अवैध उत्खनन् भइरहेको छ । पारिपट्टि वडा नम्बर २७ मा पर्ने मोरेखरे घाटमा ढुंगाबाल...
यातायात व्यवस्था विभागले अवैधरूपमा जारी भएका २९ हजारभन्दा बढी लाइसेन्स रद्द गरेको दाबी गरे पनि त्यसको वैधतामा प्रश्न उठेको छ । लाइसेन्स जारी वा रद्द गर्ने अधिकार भएका सम्बन्धित कार्यालयबाटै रद्द गराउनुपर्नेमा व...
प्याथोलोजिस्ट डा. अञ्जन श्रेष्ठले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा ब्लड क्यान्सरको उपचार गर्दै आएका छन् । अस्पतालको प्याथोलोजी विभाग प्रमुख समेत रहेका डा. श्रेष्ठ क्यान्सर तथा रगतसम्बन्धी रोग...
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले पत्रसहित पठाएको उजुरीको आधारमा सरकारले अतिक्रमित जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन छानबिन समिति गठन गरेको खुलेको छ । परिषद्का अध्यक्ष शीतल साहले गृह मन्...
गण्डकी प्रदेशले चर्चेको भूगोल वरपर पर्ने झुम्म परेका गाउँ/बस्ती पँहेलपुर छन् । पछिल्ला दिनमा लाहुरेहरू भरिया लिएर गाउँ जाने परम्परा लोप हुँदै गएको छ, बस्ती सरेका कारण । दमाई समुदायले बजाउने एकनासे एकोहोरो बा...
आज लक्ष्मीपूजा तथा दीपावली, नेपाली नाम दीपमालिका, तिहार पर्वको दोस्रो दिन । यद्यपि यी काम तिहार पर्वको तेस्रो दिन पर्ने गर्छ तर, भोलि साँझ औँसी तिथिले नभेट्ने भएकाले यस वर्ष दोस्रो दिन पर्न गएको हो । य...
प्रचण्ड (पुष्पकमल दाहाल)लाई केपी ओलीसँग मरे पनि सँगै, बाँचे पनि सँगै यात्रा गर्ने रहर रहेछ । तर, भगवानको कृपाले यिनका सम्बन्धमा बिछोडको घडी आयो । बिछोडको पीडामा तड्पिनुको पनि एउटा सीमा हुन्छ । प्रचण्डको तड्पाइ...