
दाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।
घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहूको ढुङ्गा माटोले बनेको घरमा मङ्गलबार चट्याङ लागेको थियो ।
चट्याङ परी घाइते भएका निमकलीका तीन वर्षीय छोरा समीर साहूको उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।
चट्याङमा परेर ४२ वर्षीया निमकली साहू र उनकी छ वर्षीया छोरी सबिना साहू घाइते भएका छन् ।
उनीहरू दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।