
नारायणी नदीमा पुल बनेसँगै सुस्तावासीलाई आवतजावतमा सहज भएको छ ।
यसअघि सुस्ता जानका लागि डुंगामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । त्यस्तै भारतीय भूमि हुँदै भारतीय सीमा सशस्त्र सीमा बल (एसएसबी)को निगरानीमा सुस्ता पुग्नुपर्ने बाध्यता थियो ।
तीनतीरबाट नारायणी र एकतिरबाट भारतीय भूमिले घेरिएको सुस्तामा झोलुङ्गे पुल सञ्चालनमा आएपछि स्थानीय खुसी छन् । पुलले विशेष गरी सुस्ता गाउँपालिका–५, स्थानीय प्रत्यक्ष लाभान्वित भएका छन् ।
भारतीय अतिक्रमणको चपेटामा परेको सुस्ताका स्थानीयले आफ्नै भूमि रक्षाका लागि भारतीयसँग संघर्ष गर्नुपर्ने र सामान्य कामका लागि पनि भारतको भर पर्नु पर्ने अवस्था पुल बनेपछि अन्त्य भएको छ ।
९ वर्ष लगाएर त्रिशूली आश्रय जेभी कन्स्ट्रक्सन कम्पनीले २९ करोड रुपैयाँको लागतमा पुल निर्माण गरेको हो ।

अब सुस्ता गाउँलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने, होमस्टे सञ्चालन गर्ने लगायतका योजना बनाउँदै गरेको सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले बताए ।
पुलको राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री प्रकाशमानसिंह र लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य पनि सहभागी थिए ।
त्यस्तै नारायणी नदीमा बनेको झोलुङ्गे पुलको उद्घाटन साथै सुस्ता क्षेत्रमा एकीकृत राष्ट्रिय विद्युत प्रणालीबाट विद्युत आपूर्तिसमेत शुभारम्भ गर्ने कार्यक्रम छ ।

झोलुङ्गे पुलले सुस्ता गाउँपालिका–५ को सकरदिनही र सोही वडाको सुस्ता गाउँलाई जोड्ने छ ।
सुस्ता क्षेत्रमा तीन सय ५० घरधुरीको बसोवास छ । यो पुल बन्नु अघि स्थानीयहरु डुंगाबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा थिए ।
वर्षायाममा उच्च बहाव हुँदा नदी तर्न जोखिमपूर्ण हुने गरेको थियो । डुंगा दुर्घटना हुँदा मानवीय क्षति समेत ब्यहोर्नुपरेको थियो ।
एक हजार पाँच सय ७१ मिटर लामो छ यो पुल बनेपछि सुस्तापट्टी उत्पादन हुने उखु र केरा दायाँ किनारमा ल्याउन र बजारको पहुँचमा सहजता हुने देखिएको छ ।
यो पुलको दायाँ किनारमा सकरदिनही र बायाँ किनारमा सुस्ता पर्दछ ।

