
लगातारको वर्षासँगै देशका धेरै सानाठूला अधिकांश नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ । आज र भोलि देशभरका नदीमा बहाव उल्लेख्य बढ्नेछ ।
नारायणी, वाग्मती, तिनाउ, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा जलसतह खतरा तह आसपास पुग्ने बाढी पूर्वानुमान महाशाखाको पूर्वानुमान छ ।
आज मधेश प्रदेशका सबै जिल्लासहित उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, रूपन्देही, कपिलवस्तु, तनहुँ, स्याङ्जा, पर्वत र आसपासका जिल्ला भई बहने अधिकांश साना नदीमा बहाव उल्लेख्य बढ्ने अनुमान छ ।
महाशाखाले यी जिल्लाका केही नदीमा आकस्मिक बाढीको जोखिम रहेको भन्दै ‘अति उच्च सतर्कता’ अपनाउन आग्रह गरेको छ ।
यसैगरी पाँचथर, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, इलाम, झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोकलगायत जिल्ला भई बहने केही साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने अनुमान छ । यी जिल्लाका केही नदीमा आकस्मिक बाढीको मध्यम जोखिमको पूर्वानुमान गरिएको छ ।
