
काठमाडौं प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलनमार्फत दशैं, तिहार र छठलाई लक्षित गरेर सुरक्षा योजना सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा परिसर प्रमुख एसएसपी वसन्त राजैरेले सुरक्षा जाँच सँगै गस्ती बढाइने जानकारी दिए ।
उनले काठमाडौं भित्रिने र बाहिरिने नाकामा ड्रोनबाट निगरानी बढाइने बताए । काठमाडौंमा विभिन्न २० प्रकारका अपराधहरू हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरीले चाडपर्वमा हुनसक्ने विभिन्न अपराधहरूलाई वर्गीकरण गरेर सुरक्षा योजना बनाएको छ ।
हुनसक्ने सम्भावित अपराधहरु क्रमशः
लुटपाट तथा कुटपिट, चोरी तथा स्न्याचिङ, डकैती, सवारी दुर्घटना, तस्करी, जुवातास, अवैध मदिरा बिक्री वितरण, मदिरा सेवन गरी झैझगडा, ट्राफिक नियम उल्लंघन, आगजनी तथा विस्फोटन, ड्रिंक एन्ड ड्राइभ, हिट एन्ड रन, चिट्ठाको प्रलोभनमा ठगी, कृत्रिम अभाव तथा कालोबजारी, नाका स्टेसनमा बाहिरिनेको चापमा हुने अवैध धन्दा, महँगो भाडा असुली, मदिराका कारण हुने अपराध, धार्मिक तथा किनमेल स्थलमा हुने पाकेटमारी र बन्द पसल तथा खाली घरहरूमा हुने चोरी छन् ।
अपराध रोकथाम तथा नियन्त्रणका लागि १४ क्षेत्रमा डीएसपीको कमान्डमा १० जनाको टोली परिचालन, २ रुटमा लङ रेन्ज गस्ती, ४२ रुटमा सर्ट रेन्ज गस्ती गरिने जानकारी एसएसपी राजौरेले दिए । उनका अनुसार काठमाडौं भित्र ७६ वटा क्यूआरटी गस्ती, २४ वटा मोबाइल गस्ती परिचालन हुनेछन् ।
आपराधिक गतिविधिको सूचना संकलनको रुपमा सादा पोशाकको रुपमा ३८ वटा टोली बनाएर परिचालन गरिने प्रहरीले जनाएको छ । ‘सिल एन्ड सर्च’ र ‘कर्डन सर्च’को रूपमा २८ टोली र २२ ठाउँमा ‘एम्बुसिङ चेकिङ’ गर्ने प्रहरी तयारी छ ।
नाकाहरूमा हरेक दिन कुकुर पनि परिचालनसँगै सर्वसाधारणलाई आपराधिक घटनाबाट जोगिन पर्चा पम्प्लेटमार्फत जनचेतना अभिवृद्धि गरिने जानकारी रजौरेले दिए । उनका अनुसार कलंकी, बल्खु सुन्धारा, पुरानो बसपार्क, गोंगबु, नयाँ बसपार्क, चाबहिल, कोटेश्वर, हल्चोकलगायत १२ स्थानमा यात्रु सहायता कक्ष खडा गरि यात्रुका गुनासो सुन्ने र समाधान गरिने छन् ।
रजौरेका अनुसार ड्रोन क्यामेरामार्फत पनि सर्भिलेन्स गरेर निगरानी गरिने छ ।
काठमाडौंमा तीन हजार सात सय ६५ जना प्रहरी परिचालन हुने र घटना भइहालेमा ५ देखि १० मिनेटभित्र प्रहरी पुग्ने गरी व्यवस्था मिलाइएको जानकारी रजौरेले दिए।