०७ असार २०८३, आइतबार

‘भिजिट बन्दीपुर २०२५’ घोषणा

असोज १२, २०८१
काठमाडौं
‘भिजिट बन्दीपुर २०२५’ घोषणा

तनहुँको पर्यटकीय नगरी बन्दीपुरलाई देश तथा विदेशमा परिचित गराउँदै पर्यटन प्रवर्द्धन गर्न ‘भिजिट बन्दीपुर २०२५’ अभियान घोषणा गरिएको छ । विश्व पर्यटन दिवसका अवसरमा शुक्रबार बन्दीपुरमा आयोजित कार्यक्रममा भिजिट बन्दीपुर २०२५ अभियान घोषणा गरिएको हो । 

गण्डकी प्रदेशका कृषि, भूमि, व्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी श्रेष्ठ र बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले अभियानको घोषणा गरेका हुन् । 

मन्त्री श्रेष्ठले गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनमा बन्दीपुरले ठूलो सहयोग पुर्‍याएको बताए। बन्दीपुरको कला, संस्कृति, रीतिरिवाज देखेर यहाँ आउने पर्यटक आकर्षित हुने गरेको बताउँदै मन्त्री श्रेष्ठले बन्दीपुरको मौलिकता कायम राख्न आग्रह गरे । उनले भने, 'बन्दीपुरलाई मौलिक शहरका रूपमा विकास गर्नुपर्छ । प्रदेश सरकार यसका लागि सहयोग गर्न तयार छ ।'

बन्दीपुर गाउँपालिकाका अध्यक्ष थापाले पर्यटकीय नगरी बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि यो अभियान घोषणा गरिएको जानकारी दिए। उनले भने, 'बन्दीपुरको सुन्दरतालाई देशविदेशमा प्रचारप्रसार गर्ने मुख्य उद्देश्य रहेको छ ।'

गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रूपमा मनाउन लागेको थापाको भनाइ छ । थापाका अनुसार उक्त वर्षभरि नै बन्दीपुरमा पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । देशका मुख्य सहर काठमाडौं, पोखरा, चितवन, लुम्बिनीलगायत पुगेर बन्दीपुरको प्रचारप्रसार गरिने थापाले बताए।

पर्यटनलाई आम्दानीको मुख्य स्रोत मानेर धेरैभन्दा धेरै पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम गरिने थापाको भनाइ छ ।

कमेन्ट गर्नुहोस्