
हिजोदेखि देशभर निरन्तर घनघोर वर्षा भइरहेको छ । देशका केही ठाउँमा अति भारी वर्षासमेत भएको छ । लगातारको वर्षाले देशका विभिन्न भागमा बाढीपहिरो र डुबानको त्रास बढेको छ ।
अविरल वर्षाका कारण दर्जनौं नदीमा जल सतह जोखिमपूर्ण अवस्थामा पुगेको छ। काठमाडौं उपत्यकामा वाग्मती नदीले पनि खतराको पार गरेको छ।
कोशी, बागमती, नारायणीसहितका नदीमा भीषण बाढी आएको छ । जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, नारायणी, तिनाउ र यसका सहायक नदीहरू गरी ११ नदीहरूमा जलसतह खतरा तहभन्दा माथि रहेको छ ।
आज दिनभर यसैगरी पानी परिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबारदेखि मात्रै मौसममा सुधार हुने महाशाखाले जनाएको छ ।
देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा रहेको छ।
हाल देशभर मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशैभर मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा धेरै भारी र एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति पनि देशैभर पानी पर्ने छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा मधेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।