
श्रीलङ्काका पूर्वराष्ट्रपति गोटावाया राजापाक्षलाई लुम्बिनी विकास कोषले स्वागत गरेको छ । शुक्रबार लुम्बिनी पुगेका उनलाई कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले स्वागत गरेका हुन् ।
भेटमा उपाध्यक्ष लामाले श्रीलङ्कासँग नेपालको सम्बन्ध निकै पुरानो रहेको स्मरण गर्दै बुद्धजन्मस्थल लुम्बिनीले सम्बन्ध थप प्रगाढ बनाएको बताए । डा. लामाले लुम्बिनी क्षेत्रमा शाक्यमुनि बुद्धसँगै कक्रुछन्द र कनकमणि गरी तीनवटा बुद्धको जन्म भएकाले निकै महत्वपूर्ण स्थल रहेको उल्लेख गरे ।
उपाध्यक्ष डा. लामाले लुम्बिनीलाई लक्षितगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान हुनुपर्नेमा जोड दिए । त्यस अवसरमा पूर्वराष्ट्रपति राजापाक्षेसँगै नेपालका लागि श्रीलङ्काका राजदूत सुदर्शना पाथिराना पनि थिए । पूर्वराष्ट्रपति राजापाक्षेत्रलाई कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्यसचिव सानुराजा शाक्य, योजना प्रमुख स्मिता भट्ट, वरिष्ठ निर्देशक ज्ञानिन राईलगायतका कर्मचारीहरूले स्वागत गरे ।
वरिष्ठ निर्देशक ज्ञानिन राईले श्रीलङ्कन मन्दिरको पुनःनिर्माणका लागि अनुरोध गरे । स्वागत कार्यक्रमपछि पूर्वराष्ट्रपति राजापाक्षेले मायादेवी भ्रमण गरेका हुन् ।
पूर्वराष्ट्रपतिले महत्वका साथ मायादेवी भ्रमण गरेको सूचना तथा जनसम्पर्क प्रमुख डा हरिध्वज राईले बताए ।
परिवारसहित नेपाल आएका राजापाक्षेले लुम्बिनीमा शान्तिको कामना गर्दै दीप प्रज्वलन पनि गरे । उनले बुद्धजन्मस्थल लुम्बिनीमा पाइला टेक्न पाउनु जीवनकै ठूलो उपलब्धि भएको बताए ।
राजापाक्षेले मायादेवी मन्दिर, जन्मस्मारक शिला, मायादेवी मूर्ति, पुष्पकरणी पोखरी, अशोकस्तम्भबारे पनि जानकारी लिए ।