
सप्तकोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएका छन् । सप्तकोशी ब्यारेजमा पानीको बहाव उच्च भएपछि सबै ढोका खोलिएका हुन् ।
पानीको सतह र बहाव बढेपछि ब्यारेजको दुवैतर्फ रातो बत्ती बालेर खतराको संकेत दिइएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद तिवारीका अनुसार शनिबार सप्तकोशीमा पानीको बहाव ४ लाख ५० हजार क्युसेक प्रतिसेकेण्ड पुगेको छ । पानीको सहत बढ्दो क्रममा रहेकाले हाइअलर्ट जारी गरिएको प्रजिअ तिवारीले बताए । ‘पानीको बहाव बढेसँगै पूर्वी र पश्चिमी तटीय क्षेत्र आसापासका बासिन्दाहरूमा सूचना जारी गर्ने र माछा मार्ने दाउरा खोज्नेहरूलाई रोक्ने काम गरिरहेका छौं,’ उनले भने ‘अहिले सम्म खतरा छैन । तर, पानीको सतह बढिरहेकोले हाइअलर्ट छौं । ’
भारतीय पक्षले ६ लाख ८० हजार क्युसेक बहाब पुग्ने अनुमान गर्दै सतर्क रहन सूचित गरेको छ ।
बिहार सरकारअन्तर्गतको विभागले विज्ञप्ति जारी गर्दै शनिबार मध्याह्न १२ बजेसम्म वीरपुरस्थित कोशी ब्यारेजमा ६ लाख ८१ हजार क्युसेक जलप्रवाह हुने अनुमान गरेको हो । भारतीय पक्षले भने अनुसार नै पानीको बहाब बढे नेपालमा पनि असर गर्न सक्ने प्रजिअ तिवारीले बताए ।
बिहारले आफ्ना जिल्ला प्रशासनहरूलाई पनि सतर्क रहन र आवश्यक सावधानीका उपाय अपनाउन निर्देशन दिएको छ ।