
पश्चिम नवलपरासीस्थित नारायणी नदीमा पानीको बहावले खतराको तह पार गरेसँगै गण्डक बाँधका सबै ढोका खोलिएका छन् । बाँधका ३६ वटा ढोका छन् ।
गण्डक बाँधमा अहिले ५ लाख ७४ हजार क्यूसेक पानी पुगेको छ । ४ लाखभन्दा बढी पानीको सतह भएपछि खतराको लेबल मानिन्छ ।
खतराको लेबल बढेपछि बाँधका ढोका खोलिएको गण्डक पश्चिम नहर सिचाइँ व्यवस्थापन कार्यालयका प्रमुख इन्जिनियर तिलकराम बुढाथोकीले जानकारी दिए । पुरानो बाँध भएका कारण संरचनाहरू जीर्ण हुँदा अहिले ब्यारेजले ४ लाख क्यूसेकभन्दा बढी पानी धान्न नसक्ने अवस्था छ ।
नारायणी नदीमाथि निर्माण गरिएको ब्यारेजले पूर्वी नवलपरासीको त्रिवेणी र भारतको बिहार प्रदेशस्थित भैंसालोटन जोडेको छ ।
तटीय क्षेत्रका स्थानीयलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । बाँधको कारण पूर्वी र पश्चिम नवलपरासीका ३० बढी गाउँ जोखिममा पर्छन् ।
दुई दिनसम्म परेको निरन्तरको पानीले जिल्लामा अहिलेसम्म कुनै क्षति नपुगेको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताइन् ।