
प्रधानमन्त्री केपी शर्मा ओलीले विपदमा सबैले हातेमालाे गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने शिलशिलामा अमेरिकामा रहेका उनले बाढीपहिरोपीडितलाई सहयोग गर्न सबैलाई आग्रह गरेका हुन् ।
प्रधानमन्त्री ओलीले सरकारी संयन्त्रले उद्धारसहितको कामको थालनी गरिसकेको जानकारी पनि दिएका छन् ।
‘बाढी पहिरोबाट उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी साथीहरू कार्यक्षेत्रमा खटिरहनु भएको छ । विपदको उद्धारका लागि सुरक्षा निकायलाई सम्पर्क गर्ने नम्बरहरू सार्वजनिक गरिएको छ । तोकिएको नम्बरमा सुरक्षाकर्मीलाई सम्पर्क गरौं र उहाँहरूलाई सबैले सहयोग गरौं । बाढीपहिरोको प्रभावमा परेको ठाउँको सूचना तत्काल सुरक्षाकर्मीसम्म पुर्याउन मद्दत गरौं,’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन् ।
वर्षाले क्षति पुर्याउन शुरू गर्नासाथ कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याल लगायतसँग उद्धारका लागि आफूले समन्वय गरेको पनि उनले बताएका छन् ।
‘वर्षाले क्षति पुर्याउन शुरू गर्नासाथ कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याल लगायतसँग उद्धारका समन्वय गरिएको थियो । सोही योजनाअनुसार सरकारले देशैभर हजारौं उद्धारकर्मी तैनाथ गरेको छ,’ उनले थपेका छन्, ‘मौसमविद्सँग केहीबेर अघि बुझेअनुसार वर्षा पूर्ण रूपमा रोकिन आइतवार दिउँसोसम्म लाग्ने छ । राष्ट्रसंघको महासभामा लगायतका कार्यक्रम सकेर स्वदेश फर्किने तयारीमा छु । विपद्को बेला हातेमालो गरेर उद्धारमा सहयोग गरौं ।’