२७ जेठ २०८३, बुधबार

काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’

असोज १२, २०८१
काठमाडौं
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’

काठमाडौं उपत्यकामा शनिवार वर्षकै सर्वाधिक वर्षा भएको छ । यहाँ शनिवार बिहान वर्षा मापन शुरू भएयताकै बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका मौसमविद् रोजन लामिछानेले शनिवार बिहान ८ः४५ बजे त्रिभुवन विमानस्थल वर्षा मापन केन्द्रमा पछिल्लो २४ घण्टामा २३९.७ मिलिमिटर वर्षा मापन भएको जानकारी दिए । यो मापन शुरू भएयताकै सर्वाधिक वर्षा भएको उनले बताए । यसअघि सन् २००२ मा यहाँ १७७ मिलिमिटर वर्षा रेकर्ड भएको थियो । 

मौसमविद् लामिछानेले काठमाडौं उपत्यकामा यति ठूलो वर्षा अहिलेसम्म मापन नभएको प्रारम्भिक अध्ययनले देखाएको र विस्तृत अध्ययन गरी केही दिनमा प्रतिवेदन सार्वजनिक गरिने पनि जानकारी दिए ।

उपत्यकाका अन्य नौ मापन केन्द्रमा पनि धेरै वर्षा मापन भएको छ । ललितपुरको चापागाउँमा सन् २००२ मा २४ घण्टामा २००.५ मिलिमिटर वर्षा भएकोमा शनिवार ३२३ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ । 

शनिवार साँझ भने जिरीमा ११२.४, जनकपुरमा १००, लुम्लेमा ११३.३, धरानमा १७७.६, धनकुटामा १७३, ओखलढुङ्गामा ११०.१ काठमाडौंमा  १९४, सिमरा १२० र भैरहवामा १९४.२ मिलिमिटर वर्षा भएको छ । 

भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा शनिवार साँझसम्म देशभरमा ६६ जनाको मृत्यु भएको छ भने ७९ जना बेपत्ता भएका छन् । काठमाडौं उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता छन् । शनिवार साँझबाट भने मौसममा केही सुधार आएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्