
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले विभिन्न नदीहरूमा आएको बाढी घट्दो क्रममा रहेको जनाएको छ । बिहीबारदेखिको अविरल वर्षा शनिबार साँझदेखि कम भएसँगै बाढी पनि मत्थर बन्दै गएको महाशाखाको भनाइ छ ।
महाशाखाका अनुसार आइतबार बिहानको मापनअनुसार सप्तकोशीको चतरामा जलसतह खतरा तहभन्दा माथि भएपनि घट्दोक्रममा रहेको छ । यस्तै नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरु साथै कन्काइ, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई नदीको बहाब सतर्कता तह भन्दा तल र घट्दो क्रममा रहेको महाशाखाको भनाइ छ ।
यसैगरी आज झापा, मोरङ, रौतहट, बारा, पाल्पा र आसपासका जिल्लाहरू बहने स–साना नदीहरूको बहाब भने केही बढ्ने पूर्वानुमान गरिएको छ ।
हाल कोशी र बागमती नदीका विभिन्न स्थानमा मात्रै बाढीले सतर्कता तह पार गरेको मापन गरिएको छ भने अन्य नदीका ५ स्थानमा चेतावनी मात्रै जारी गरिएको छ । यस्तै पछिल्लो समय देशमा कुनै पनि स्थानमा भारी वर्षा रेकर्ड भएको छैन ।