
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमहित उपस्थित भएका छौँ–
बिहीबारदेखि शनिबार साँझसम्म परेको भिषण वर्षाले व्यापक जनधनको क्षति भएको छ । आइतबार बिहानको अध्यावधिक तथ्यांकअनुसार बाढी, पहिरो र डुबानको समस्याबाट १०२ जनाले ज्यान गुमाएका छन् भने ६४ जना बेपत्ता भएका छन् ।
यस्तै ४५ जना घाइते भएका छन् । यस्तै १९५ वटा घर र ८ वटा पुलमा क्षति पुग्दा ३ हजार भन्दा बढीको सकुसल उद्दार गरिएको छ ।
००००
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले विभिन्न नदीहरूमा आएको बाढी घट्दो क्रममा रहेको जनाएको छ । बिहीबारदेखिको अविरल वर्षा शनिबार साँझदेखि कम भएसँगै बाढी पनि मत्थर बन्दै गएको महाशाखाको भनाइ छ ।
महाशाखाका अनुसार आइतबार बिहानको मापनअनुसार सप्तकोशीको चतरामा जलसतह खतरा तहभन्दा माथि भएपनि घट्दोक्रममा रहेको छ ।
यस्तै नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरु साथै कन्काइ, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई नदीको बहाब सतर्कता तह भन्दा तल र घट्दो क्रममा रहेको महाशाखाको भनाइ छ ।
यसैगरी आज झापा, मोरङ, रौतहट, बारा, पाल्पा र आसपासका जिल्लाहरू बहने स–साना नदीहरूको बहाब भने केही बढ्ने पूर्वानुमान गरिएको छ ।
हाल कोशी र बागमती नदीका विभिन्न स्थानमा मात्रै बाढीले सतर्कता तह पार गरेको मापन गरिएको छ भने अन्य नदीका ५ स्थानमा चेतावनी मात्रै जारी गरिएको छ । यस्तै पछिल्लो समय देशमा कुनै पनि स्थानमा भारी वर्षा रेकर्ड भएको छैन ।
००००
काठमाडौँ उपत्यकामा शनिबार सर्वाधिक वर्षा भएको छ । बिहान वर्षा मापन सुरु भएयताकै बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् रोजन लामिछानेले शनिबार बिहान ८ः४५ बजे त्रिभुवन विमानस्थल वर्षा मापन केन्द्रमा पछिल्लो २४ घण्टामा २३९।७ मिलिमिटर वर्षा मापन भएको जानकारी दिए । यो मापन सुरु भएयताकै सर्वाधिक वर्षा भएको उनले बताए। यसअघि सन् २००२ मा यहाँ १७७ मिलिमिटर वर्षा रेकर्ड भएको थियो । सोही कारण काठमाडौँमा व्यापक धनजनको क्षति हुन पुग्यो ।
००००
शिक्षा मन्त्रालयले आइतबारदेखि तीन दिन देशभरका विद्यालय बन्द गर्न आग्रह गरेको छ।
अविरल वर्षाका कारण विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय तीन दिन बन्द गर्न मन्त्रालयले स्थानीय तहलाई अनुरोध गरेको हो । जसअनुसार कतिपय स्थानीय तहले यो आग्रहलाई कार्यान्वयन गर्दै विद्यार्थी तथा अभिभावकलाई आइतार बिद्यालय बन्द हुने सूचना पठाएका छन् ।
००००
सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा साबधानी अपनाइएको छ । नदीमा पानीको बहाव प्रतिसेकेन्ड ५ लाख क्युसेक नाघेपछि सुरक्षालाई मध्यनर गर्दै कोशी ब्यारेजमा आवागमन रोक लगाइएको हो ।
००००
पहिरोले राजमार्ग अवरुद्ध हुँदा सार्वजनिक यातायात सेवा एवं जनजीवन प्रभावित बनेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले काठमाडौंको नयाँ बसपार्क र अन्य क्षेत्रबाट सञ्चालन हुँदै आएका लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालन हुन नसकेको बताए ।
००००
सरकारले सबै परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ । शनिबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको आपत्कालीन समन्वयात्मक बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
००००
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थाहरूलाई वर्षा र बाढीबाट भएको विपद्का घटनाबाट उद्धार गरिएका घाइते बिरामीहरूलाई निःशुल्क उपचार गर्न स्वास्थ्य संस्थाहरूलाई आग्रह गरेको छ ।
००००
अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबान लगायत प्राकृतिक विपद् जोखिममा परेका नागरिकहरूको खोज तथा उद्धारका लागि मुलुकभर २० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ । विपदबाट हुने क्षति न्यूनीकरण, नागरिकको जिउधनको रक्षा र विपद्मा परेकाहरूको खोज तथा उद्धार, स्वास्थ्य उपचारमा सुरक्षाकर्मी सक्रिय रूपमा परिचालन भएको छ ।