२३ जेठ २०८३, शनिबार

३ वटा हेलिकप्टरले गर्दैछन् सिन्धुलीमा फसेका यात्रुको उद्धार

असोज १३, २०८१
काठमाडौं
३ वटा हेलिकप्टरले गर्दैछन् सिन्धुलीमा फसेका यात्रुको उद्धार

सिन्धुलीको बाढीमा फसेका यात्रुहरूको हेलिकप्टरमार्फत उद्धार शुरू भएको छ ।

अविरल वर्षापछि देशका विभिन्न स्थानहरूमा आएको बाढी र पहिरोले प्रभावितहरूको खोज तथा उद्धार गर्ने क्रममा आइतबार दिउँसो सिन्धुलीको बाढीमा फसेका यात्रुहरूको हेलिकप्टरमार्फत उद्धार थालिएको हो ।

यसअघि आज बिहानसम्म बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्‌मा परेका ११८ जनाको हेलिकप्टरबाट सकुशल उद्धार गरिएको छ ।

शनिबार र आइतबार बिहानसम्म नेपाली सेनाको हेलिकप्टरबाट उनीहरूलाई सकुशल उद्धार गरिएको ​​गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले आइतबार बिहानदेखि काभ्रेपलाञ्चोकका विभिन्न पालिकाबाट अहिलेसम्म ४० जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिए ।

खराब मौसमका कारण शनिबार नै हेलिकप्टर त्यहाँ पठाइए पनि उद्धार गर्न असहज भएको थियो ।​

काभ्रेपलाञ्चोकमा अहिले नेपाली सेनाका तीन वटा हेलिकप्टरले उद्धार कार्य जारी राखेको छ ।

प्रवक्ता तिवारीले गृह मन्त्रालयको अनुरोधमा विपद्को जोखिममा रहेका नागरिकहरूको उद्धारमा सेनाले लगातार हवाई उद्धार गरिरहेको बताए ।

त्यसैगरी शनिबार काठमाण्डौं उपत्यकामा १३, सिन्धुलीमा ३३ र मकवानपुरमा ३२ जनाको हवाई उद्धार गरिएको थियो ।

गृह मन्त्रालयका प्रवक्ता तिवारीले बाढी, पहिरोका कारण अवरुद्ध राजमार्ग खुलाउन सबै संयन्त्र परिचालन गरिएको बताए ।

गृह मन्त्रालयको तथ्याङ्कअनुसार बाढी, पहिरो र डुबानबाट १०७ जनाको मृत्यु, ६४ जना बेपत्ता र ७३ जना घाइते भएका छन् ।

गृहमन्त्री रमेश लेखकले सुरक्षा संयन्त्र र सरोकारवाला निकायलाई उद्धार, राहत, घाइतेको स्वास्थ्य उपचार र अवरुद्ध सडक सुचारु गर्न तदारुकताका साथ लाग्न निर्देशन दिइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्