
प्राकृतिक विपतसँग जुध्ने गरी आवश्यक पूर्व तयारी र तयारी नगरेको भन्दै कांग्रेसका नेताहरूले सरकारको आलोचना गरेका छन् ।
अविरल वर्षापछिको देशका उपत्यका आसपाससहित देशका विभिन्न स्थानमा १३२ जनाभन्दा बढीको मृत्यु भएको, भौतिक संरचनामा ठूलो क्षति भएपछि सरकारले आवश्यक तयारी नगरेको भन्दै आलोचना भएको हो ।
सरकारका कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकले विपद्पछि सरकारले आवश्यक कारबाही अगाडि बढाएको बताएका थिए । तर सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा आइतबार बिहान केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारले विपतसँग जुध्न आवश्यक तयारी नै नगरेको भन्दै आलोचना भएको हो ।
बैठकपछि जारी विज्ञप्तिमा पनि सरकारको पूर्व तयारी नदेखिएको उद्धारको काम पनि प्रभावकारी नभएको भन्दै आलोचना गरिएको छ ।
‘नियमित रुपले झेल्नु परेको प्राकृतिक विपद्सँग जुध्न आवश्यक पूर्व तयारी र उद्धारमा अझै तीव्र र चुस्त तयारीको आवश्यकता खड्किएको छ । अतः तिनै तहको सरकारले निभाउनु पर्ने भूमिकाको एकीकृत रणनीति र चुस्त कार्ययोजना निर्माण गर्न तथा उद्धारमा आवश्यक पर्ने श्रोत–साधनको पर्याप्त जोहो गर्न कार्यसम्पादन समितिको यो बैठक सरकारलाई ध्यानाकर्षण गराउँदछ,’ बैठकको निर्णयमा भनिएको छ ।
शनिबार नख्खु खोलमा उद्धारको पर्खाइमा रहेका मानिसलाई बचाउन सरकारी संयन्त्रबाट आवश्यक कारवाही नै अगाडि नबढेको विषयमा पनि सरकारको आलोचना भएको छ । कांग्रेसका बैठकमा समेत प्रश्न उठेपछि गृहमन्त्री लेखकले सरकारले सीमित स्रोत साधनमा काम गर्नुपरेको गुनासो गरेका थिए ।
बैठकमा कार्यवाहक प्रधानमन्त्री सिंह र गृहमन्त्रीले सरकारले गरेको कामको ब्रिफिङ गरेका थिए ।
गृहमन्त्री लेखकले सरकारले ३३ सय जनालाई समयमा उद्धार गरेर ठूलो मानवीय क्षति हुनबाट बचाएको दाबी गरेका थिए ।
बैठकमा सहभागी भएका कांग्रेस सहमहामन्त्री जीवन परियारले राजधानीमा उद्धार नहुने, सजगता नअपनाउँदा नागढुंगामा ठूलो मानवीय क्षति भएकोमा प्रश्न उठ्नु स्वभाविक भएको बताए ।
‘ठूलो घटना भयो । राजधानीमा समयमा उद्धार नहुँदासमेत धेरैले ज्यान गुमाएको कुरा आएका छन्,’ परियारले भने, ‘यस्तोमा सरकारमाथि प्रश्न उठ्छ । हामी सत्तारुढ छौं भनेर भएको कुरा नउठाउन भन्ने हुँदैन । सरकार अझै सचेत भनेर यस्ता कुरा उठेका हुन् ।’