२६ जेठ २०८३, मंगलबार

विपद्‌मा मृत्यु हुनेको संख्या १३२ पुग्यो, झ्याप्ले खोलामा मात्रै ३५ जनाको शव भेटियो

असोज १३, २०८१
काठमाडौं
विपद्‌मा मृत्यु हुनेको संख्या १३२ पुग्यो, झ्याप्ले खोलामा मात्रै ३५ जनाको शव भेटियो

​बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मृत्यु हुनेको संख्या १३२ पुगेको छ ।

गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडौं उपत्यकामा ६८, बागमती प्रदेशमा ४५, कोशी प्रदेशमा १७ र मधेश प्रदेशमा २ जनाको मृत्यु भएको छ ।

त्यसैगरी विपद्का घटनामा परी ६४ जना बेपत्ता र ६१ जना घाइते भएका छन् । सुरक्षाकर्मीको सक्रियताका कारण हालसम्म मुलुकभरबाट ३ हजार ६२६ जनाको सकुशल उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नागढुंगा–नौबिसे सडक खण्ड अन्तर्गत पर्ने झ्याप्ले खोलमा मात्रै ३५ जनाको शव फेला परेको छ । 

नेपाली सेनाको हेलिकप्टरबाट आइतबार बिहानदेखि हालसम्म काभ्रेपलाञ्चोकका विभिन्न स्थानबाट बाढी, पहिरो तथा प्राकृतिक जोखिममा परेको १९३ जनाको सकुशल गरिएको छ । नेपाली सेनाको टोली बढी जोखिममा फसेका नागरिकहरूको उद्धारका लागि दुई दिनदेखि हवाई उद्धार गरिरहेको छ ।

विपद्का कारण राजमार्ग अवरुद्ध रहेका सडक सुचारु गर्न सबै संयन्त्रहरू परिचालन गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

प्रभावित क्षेत्रमा नागरिकको उद्धार, राहत तथा घाइतेहरूको उपचारका लागि अस्पताल पुर्‍याउने लगायतका कार्यमा सुरक्षाकर्मीहरू सक्रिय भएर खटिएको उनले बताए । 

झ्याप्ले खोलमा बुटवलबाट आएको लु १ ख ४५७८ नम्बरको विङ्गरमा १४ जना, नारायणगढबाट आएको ना २ ख १३४५ नम्बरको माइक्रोबसमा १६ जना, गोरखाबाट काठमाडौं आएको ना ४ ख २२७० नम्बरको बसमा ५ जना गरी ३५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकमध्ये २५ जना पुरुष र १० महिला छन् ।

salt training

कमेन्ट गर्नुहोस्