
अविरल वर्षाबारे सरकारले नागरिकलाई आवश्यक सूचना दिए पनि आफैंले आवश्यक सचेतना नअपनाएको भन्दै सर्वदलीय बैठकमा प्रश्न उठेको छ ।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्वदलीय बैठकमा नेताहरूले सरकारले सूचना दिए पनि क्षति न्यूनीकरणको लागि प्रभावकारी आवश्यक सचेतना नअपनाएको भन्दै प्रश्न उठेको हो ।
जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले सरकारले सूचना दिए पनि सुधार्नुपर्ने थुप्रै ठाउँ रहेकोबारे सुझाव दिएको जानकारी दिए ।
‘काठमाडौंमा धेरै नागरिक बेपत्ता भए । धेरैको मृत्यु भयो । संघीय राजधानीमा सबैभन्दा बढी क्षति भयो । यसको कारण खोज्नुपर्छ भनेर सुझाव दिएका छौं । नदी र खोलाका नदीका मापदण्ड, अत्यधिक अप्रवास, करिडोरका सडक बनाउँदा आवश्यक प्रक्रिया पूरा नगरिएकोमा प्रश्न उठाइएको छ,’ श्रेष्ठले बैठकपछि भने, ‘यसपटक सरकारले यसपटक यस्तो हुँदैछ भनेर सूचना दियो । सूचनाको लागि साथीहरूले धन्यवाद पनि दिए । तर अरु सुधार्नुपर्ने कुरा धेरै छन् । भनेर कुरा उठेको छ ।’
बैठकमा नेताहरूले बाढी र पहिरोपछि खानेपानी, बाटो, बिजुली जस्ता अत्यावश्यक मुख्य विषयमा बजेटको व्यवस्था गरेर काम गरिहाल्न अधिकांश नेताले सरकारलाई सुझाव दिएको उनले जानकारी दिए ।
सर्वदलीय बैठकमा प्रमुख सत्ता घटक कांग्रेसमै पनि सरकारले विपद्को लागि आवश्यक पूर्व तयारी नगरेको भन्दै आलोचना भएको थियो ।