२२ जेठ २०८३, शुक्रबार
वर्षाको बितण्डा

बाढीपहिरोले १०० भन्दा बढी विद्यालयमा क्षति, काभ्रे, ललितपुर र सिन्धुली बढी प्रभावित [विवरणसहित]

कम्तीमा १२ जना विद्यार्थीको मृत्यु, हजारौँको पठनपाठन अवरुद्ध
असोज १५, २०८१
काठमाडौं
बाढीपहिरोले १०० भन्दा बढी विद्यालयमा क्षति, काभ्रे, ललितपुर र सिन्धुली बढी प्रभावित [विवरणसहित]

गत बिहीवार साँझदेखि लगभग तीन दिनसम्म अविरल परेको भीषण वर्षाका कारण आएको बाढीपहिरोले देशभरका १०० भन्दा बढी विद्यालयमा क्षति पुगेको छ । यस्तै मंगलवारसम्म देशभर १२ जना विद्यार्थीको मृत्यु भएको छ ।

शिक्षा, विज्ञान एवं प्रविधि मन्त्रालयका प्रवक्ता तथा विद्यालय शिक्षा महाशाखा प्रमुख लक्ष्मीप्रसाद भट्टराईले दिएको जानकारीअनुसार बाढीपहिरोको सबैभन्दा बढी प्रभाव काभ्रेपलाञ्चोक, ललितपुर, सिन्धुलीलगायत जिल्लामा परेको छ । अन्य दर्जनभन्दा बढी जिल्लाका विद्यालयसमेत प्रभावित भएका छन् । विद्यालयमा क्षति भएका कारण हजारौँ विद्यार्थीको पठनपाठन समेत प्रभावित भएको भट्टराईले बताए । 

‘धेरैजसो विद्यालयको पर्खाल भत्किएको छ भने कतिपय कक्षाकोठा नै पहिरोले पुरिएका छन्,’ उनले भने, ‘केही विद्यालयको भवन बगाएर लगेको तथा कुनैको कम्पाउन्डवाल भत्किएको पाइएको छ ।’ 

ललितपुरको महालक्ष्मी नगरपालिकामा रहेको गम्भीर समुद्रसेतु माध्यमिक विद्यालयको पर्खाल भत्किएको छ भने खेल मैदान र आठवटा कक्षाकोठा बाढीको लेदोले पुरिएका छन् । यस्तै विश्वामित्र गणेश माविमा पहिरोले ल्याब र नर्स कक्ष भत्काएको छ भने लामाटारको शृङ्गेरी माविमा शौचालय भवन भत्किनुका साथै विद्यालय भवनमा क्षति पुगेको छ । यसैगरी दिव्यज्योति माविमा खोलाछेउको कम्पाउन्ड भत्किएको छ । साथै श्रीनेपाल डनबस्को र गौरीशंकर स्कूलको एकतल्ला डुबानमा परेको छ ।

बाढीपहिरोले ललितपुर महानगरपालिकामै एक दर्जनभन्दा बढी विद्यालय प्रभावित भएका छन् । बालकुमारी आधारभूत विद्यालय (आवि)को पछाडि पहिरो गएपछि विद्यालय जोखिममा छ भने युवा प्रतिभा माविमा बिजुलीको पोल र खानेपानीको ट्यांकीमा क्षति भएको छ । 

महानगरकै आदर्श कन्या माविको छतमा सामान्य क्षति भएको छ भने बखेलकुमारी आविको विद्यालय भवनभन्दा १० मिटर पर पहिरो गएको छ । यसले गर्दा विद्यालय भवन नै जोखिममा परेको छ । हात्तीवनमा रहेको लिटिल एन्जल्स र आइजे पायोनियर स्कूलको एकतला डुबानमा परेको छ । धापाखेलको जेम्स स्कूल डुबानमा पर्नुका साथै नाइटिङ्गेल स्कूलको पार्किङ्गस्थल डुबानमा परी सवारीसाधनमा क्षति पुगेको छ । 

त्यसैगरी ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको गोठभन्ज्याङ माविमा अध्ययनरत २ विद्यार्थीको ज्यान गएको छ । यस्तै ज्ञानज्योति माविलाई बाढीले पूर्णरुपमा क्षति पुर्याएको छ । यसैगरी ज्ञानोदय आविको वालमा क्षति भएको छ ।

ललितपुरकै गोदावरी नगरपालिकामा रहेको बुद्ध माविको कम्पाउन्डवाल, शौचालय र ट्रसमा क्षति भएको छ भने गणेश मावि, हिमाली आवि र गोदावरी रेसिडेन्ट स्कूलमा समेत क्षति पुगेको छ ।

ललितपुरकै बागमती नगरपालिकाको नागदह आविमा क्षति पुग्नुका साथै विद्यादिश्वरी माविको ५ कोठे कच्ची भवन पहिरोले भत्केको छ । 

त्यसैगरी ललितपुरको महांकाल नगरपालिकामा धेरै नै क्षति भएको अनुमान गरिएको भएपनि सम्पर्क विच्छेदका कारण विवरण प्राप्त हुन नसकेको प्रवक्ता भट्टराईले जनाए ।

त्यसैगरी दोलखाको भीमेश्वर नगरपालिकाको अल्पाइन स्कूलका एक विद्यार्थीको घर भत्किएका कारण मृत्यु भएको छ ।

यता भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको श्री महेन्द्र आविमा बाढीका कारण क्षति भएको छ । सूर्यविनायक नगरपालिकाको जोरपाटी माविमा अध्ययनरत एक विद्यार्थीको आफ्नै घरमा पहिरोमा परी मृत्यु भएको छ ।

त्यसबाहेक काभ्रेको धुलिखेल नगरपालिका, पाँचखाल नगरपालिका, तेमाल गाउँपालिका, रोशी गाउँपालिका र भुम्लु गाउँपालिकाका विद्यालयहरूमा पनि क्षति पुगेको छ । 

मन्त्रालयको तथ्यांकअनुसार धुलिखेल नगरपालिकामा रहेको दारिम्बोट बाल प्राविका दुईवटा कोठा पूर्णरूपमा क्षति हुनुका साथै दुवै तर्फबाट पहिरो गएको छ । यस्तै विनायक आवि पूर्णरूपमा पहिरोले पुरेको छ । कालीदेवी माविमा तलबाट पहिरोले तानेको छ भने माथिबाट माटोको ढिस्कोले छोपेको छ ।

त्यसैगरी पाँचखाल नगरपालिकाको नवज्योति प्राविमा समेत सामान्य क्षति भएको छ । त्यस्तै पाँचखाल–१ को जनजागृति प्राविको कम्पाउन्डमा पहिरो गएको छ ।

त्यसैगरी काभ्रेकै तेमाल गाउँपालिकास्थित जनचेतना माविको कम्पाउन्डवाल भत्किएर विद्यालय भवन खस्दा पाँच कोठाको दुई तल्ले भवन पूर्णरूपमा क्षतिग्रस्त भएको छ । त्यसैगरी कालीदेवी प्राविमा पहिरो खस्दा भवन पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने नारायणस्थान आविको कम्पाउन्डवालमा क्षति पुगेको छ । साथै पहिरोले कक्षा कोठामा समेत आंशिक क्षति पुर्याएको छ । 

त्यसैगरी जनज्योति माविको कम्पाउन्डमा पहिरोले सामान्य क्षति पुगेको छ भने सिमभन्ज्याङ प्राविमा सामान्य क्षति भएको छ । तेमाल गाउँपालिकाकै कुशेश्वर माविमा अध्ययनरत एक तथा सर्वोद्धार माविका दुई विद्यार्थीको पहिरोमा परी मृत्यु भएको छ । ‘उनका परिवारको पनि मृत्यु भएको छ,’ शिक्षा मन्त्रालयका प्रवक्ता भट्टराईले भने ।

त्यसैगरी काभ्रेकै रोशी गाउँपालिका–८ किर्दासस्थित देवीश्वरी प्राविलाई बाढी पसेर पुरेको छ । वडा नम्बर ७ मा रहेको अमरनाथ प्राविको विद्यालय परिसर र कम्पाउन्डलाई बाढीले कटान गरेको छ ।

त्यसैगरी रोशी–९ को मंगलटारस्थित मंगल जनविजय माविको परिसरमा बाढी पसेर कम्पाउन्डवाल बगाएको छ । यस्तै विद्यालय परिसरमा पनि क्षति भएको छ । त्यसैगरी रोशी–१० को वाल्टिङस्थित पञ्चकन्या माविमा पनि बाढी पसेर क्षति पुगेको छ ।

यसैगरी रोशी–११ स्थित शान्तिबुद्ध प्रावि र रोशी–४ को ज्वालादेवी प्रावि खोला कटानका कारण जोखिमपूर्ण अवस्थामा छ ।

रोशी–११ स्थित भीमेश्वर माविमा विद्यालयको सपोर्टवाल क्षतिग्रस्त भएको छ भने रोशी–५ स्थित भूमेस्थान माविको कक्षाकोठामा बाढी पसेर क्षति भएको छ । साथै मुनिबाट पहिरो खसेर भवनसमेत चर्किएको छ । रोशी–५ स्थित विद्याविकास प्राविमा कक्षाकोठासहित विद्यालय परिसर पुरिएको छ ।

त्यसैगरी काभ्रेकै भुम्लु गाउँपालिकाको भुसिदेवीस्थान प्राविमा विद्यालय प्रांगण पहिरोले लगेको छ भने कौशिक वैदिक गुरुकूल विद्यालयको भवन क्षतिग्रस्त बनेको छ । सोही पालिकाको कालीदेवी प्राविमा पनि पहिरोले विद्यालयको भवन क्षतिग्रस्त भएको छ ।

काभ्रेकै पनौती नगरपालिकाका विद्यालयहरूमा बाढीपहिरोले व्यापक क्षति पुर्याएको छ । नगरपालिकाको भालचन्द्र माविमा भवनको भुइँतल्ला बाढी र पहिरोको लार्दो माटोले भरिएको छ भने विद्यालय जाने बाटाहरू पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । कुशादेवी माविको २५० मिटरको तारजालीसहितको कम्पाउन्डवाल नष्ट भएको छ भने खानेपानीको मुहान र पाइपलाइनमा क्षति पुगेको छ । विद्यालय भवनको भुइँतल्लाका कोठाहरू हिलो र लेदोले भरिएका छन् भने फूलचोकी आवि र बालकन्या आविको भवनमा पहिरोले क्षति पुगेको छ ।

त्यसैगरी ग्रामोदय आविको शौचालयमा पहिरोले क्षति पुगेको छ भने गोरखनाथ आविको नजिकै पहिरो गएर ९०० मिटरजतिको कम्पाउन्डवाल लडेको छ । यसले गर्दा विद्यालय नै जोखिममा छ ।

त्यसैगरी भालेश्वर माविमा करिब २०० मिटर लामो तारबारसहितको कम्पाउन्डवाल र पानीको मुहान पहिरोले नष्ट गरेको छ । साथै विद्यालय जाने बाटाहरू अवरुद्ध भएका छन् । ज्वालामुखी प्राविमा नयाँ भवनको आधातल्ला पुरिएको छ भने बाल आदर्श माविको खानेपानीको मुहान र कम्पाउन्डवाल पहिरोले क्षतिग्रस्त भएर विद्यालय जोखिममा छ ।

श्रीराम माविमा कक्षा १२ मा अध्ययनरत एक छात्राको पहिरोमा परी निधन भएको छ । यस्तै कमलदेवी जनप्रिय माविमा बालकक्षा र पुस्तकालयमा क्षति पुगेको छ । 

त्यसैगरी सिन्धुलीको महादेव गुरुकूल विद्यालयका ३३ जना शिक्षक तथा विद्यार्थीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए ।

सिन्धुलीकै सुनकोशी गाउँपालिकाको पशुपति आविको भवन पहिरोले पुरिएको छ । पहिरोले पुरिएको उक्त विद्यालयका १७ जना फरक क्षमता विद्यार्थीलाई गाउँपालिकाको समन्वयमा सुरक्षित स्थानमा सारिएको छ ।

त्यसैगरी सिन्धुलीको सुनकोशी नगरपालिका– ७ रुपाकोटस्थित श्री जखनी प्राविको भवन चर्किएको छ । भवनअगाडिको भागमा पहिरो पनि गएको हुनाले विद्यालय जोखिममा छ ।

त्यसैगरी पहिरो झरेर सिन्धुलीकै फिक्कल–१ स्थित जनजागृति मावि ढोडेनीको २ कोठे भवन क्षतिग्रस्त भएको छ । यसैगरी फिक्कल–४ खारसाङको सुनकोशी माविमा खानेपानीको इनार सुनकोशीले बगाइदिएको छ  ।

त्यसैगरी तेह्रथुमको फेदाप गाउँपालिकाको महाकाली माविको ४ कोठे भवन भत्किएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको वात्सल्यदेवी माविका कक्षा ८–१० का ६ जना विद्यार्थीको पहिरोमा परी मृत्यु भएको छ ।

मकवानपुरकै बागमती गाउँपालिकाको राजदेवी आविको भवन र शौचालय पहिरोले बगाएको छ भने सोही गाउँपालिकाको वनदेवी आधारभूत विद्यालयको पर्खाल भत्किएको छ  ।

मकवानपुरगढी गाउँपालिकाको अगेडर आधारभूत विद्यालयका दुईवटा कक्षाकोठा पहिरोले पुरिएको छ । त्यसैगरी हुम्लाको खार्पुनाथ गाउँपालिकाको कैलाश आविको एकातर्फको भित्ता भत्किएको छ भने जाजरकोटको छेडागाड नगरपालिकाको भैरव बालविकास विद्यालयका दुईवटा कक्षाकोठा पहिरोले भत्किएका छन् ।

पाँचथरको फिदिम नगरपालिकास्थित लुम्फाबुङ माविको पर्खाल पहिरोले भत्किएको छ ।

त्यसैगरी तेह्रथुमको लालीगुराँस नगरपालिकाको विद्यालय भवनको एउटा भाग पहिरोबाट क्षति पुगेको र कक्षा कोठामा पहिरो पसेको छ  ।

त्यसैगरी गुल्मीको छत्रकोट गाउँपालिकाको जनज्योति माविको छात्रा शौचालयमा क्षति पुगेको छ ।

सुर्खेतको चिङगाड गाउँपालिकाको भगवती प्रावि पानीपुंगको दुईकोठे भवनमा बाढी पसेर पर्खाल, कार्पेट र शैक्षिक सामग्रीमा क्षति पुगेको छ ।

रसुवाको आम्सिदिङ गाउँपालिकास्थित एक विद्यालयको पर्खाल भत्किएको र मुख्य भवन पहिरोको जोखिममा रहेको बताइएको छ । 

रसुवा माविको पर्खाल भत्किएको छ भने आम्चोदिङ्मो गाउँपालिकाको ज्ञानज्योति आविको पर्खाल भत्किनुका साथै विद्यालय भवन र शौचालय पहिरोको उच्च जोखिममा रहेका छन् ।

शिक्षा मन्त्रालयको तथ्यांकअनुसार मधेश प्रदेशमा ४२ वटा विद्यालयमा क्षति पुगेका कारण झण्डै ११ हजार विद्यार्थीको पठन पाठन प्रभावित भएको छ ।

मोरंगको रंगेली नगरपालिकाको सरस्वती माविका २४ कक्षाकोठा विपद् प्रभावित परिवारले प्रयोग गरिरहेको प्रवक्ता भट्टराईले बताए ।

क्षतिको विवरण:


 

salt training

कमेन्ट गर्नुहोस्