
युरोपको सबैभन्दा ठूलो क्लब फूटबल प्रतियोगिता च्याम्पियन्स लिगमा पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन् ।
मंगलवार राति स्विस क्लब योङ ब्वाइजविरुद्ध दुई गोल गर्दै उनले तीन फरक क्लबबाट १० भन्दा बढी गोल गरेको रोनाल्डोको कीर्तिमान बराबरी गरेका हुन् । उक्त खेल स्पेनिस क्लब बार्सिलोनाले ५–० गोलको फराकिलो अन्तरले जितेको थियो ।
लेवान्डोस्कीले जर्मन क्लब बोरुसिया डर्टमुन्डका लागि १७ र बायर्न म्युनिखका लागि ६९ गोल गरेका थिए । यस्तै बार्सिलोनाबाट १० गोल पुर्याएका छन् ।

यता रोनाल्डोले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका लागि २१, स्पेनिस क्लब रियल म्याड्रिडका लागि १०५ र इटालियन क्लब युभेन्टसका लागि १४ गोल गरेका छन् ।
यस क्रममा रोनाल्डोले पाँचवटा च्याम्पियन्स लिगका उपाधि जितेका छन् । यस्तै लेवान्डोस्कीले पनि एउटा उपाधि जितेका छन् ।