
गत शुक्रवार धादिङको धुनीबेँसी नगरपालिका–९, झ्याप्ले खोलाको पहिरोमा पुरिएर सर्लाहीको हरिपूर्वा नगरपालिका–२ का १८ वर्षीय वसन्तकुमार साह सधैँका लागि अस्ताए । आर्थिक रुपमा कमजोर परिवारको सुख किन्ने वसन्तको सपना पहिरोमा पुरिएर सदाका लागि बिलायो ।
घरको जेठो छोरा वसन्त पढाइमा निकै मेहनती थिए । ‘परिवारको दुःख हटाउनु भनेर सधैँ मलाई सम्झाउथ्यो,’ बुवा भरत साहले भक्कानिँदै भने, ‘धेरै पढेर ठूलो मान्छे बन्ने, दुई दिदीको विवाह गर्ने र एउटा भाइलाई धेरै पढाउने उसको सपना थियो ।’
छोराको शोक बारेर बसेका भरतले भने, ‘परिवारको बिचल्ली बनाएर गयो, घरको एउटा ठूलो खम्बा ढल्यो बाबु, अब कसले यो घरको काँध थाम्छ ?’ भरत सामान्य किराना पसल चलाउँछन् । परिवारको लालनपालन तथा छोराछोरीको शिक्षा दिक्षाको एकमात्र आधार यही किराना पसल हो ।
थोरै भएको खेतमा फलेको अन्नले मुस्किलले परिवारको वर्षभरीको छाक टर्ने उनले बताए । ‘छोराले राम्रो पढ्दै गएकाले अब दुःखको दिन गयो भन्ने लागेको थियो,’ भरतले भने, ‘यो के बज्रपात पर्यो ।’ घटना भएको दिनदेखि घर मात्र होइन गाउँ नै शोकमा छ । परिवारमा पूरै अन्धकार छाएको छ । वसन्तकी आमाको राम्रोसँग होस् आएको छैन ।
वसन्तले कक्षा ६ सम्मको अध्ययन गाउँकै स्कूलबाट गरेका थिए । उनले कक्षा ६ देखि एसईईसम्मको पढाइ भने चितवनको प्रभात माविबाट गरेका हुन् । गत शैक्षिक सत्रमा एसईई परीक्षा पास भएपछि कक्षा ११ र १२ पढ्न उनी काठमाडौं गएका थिए । दिदी विभाकुमारीसँगै बसेर उनले काठमाडौंको नयाँ बानेश्वरस्थित लिभरपुल कलेजमा विज्ञान विषय लिएर अध्ययन गरिरहेका थिए ।
क्याम्पसले उनलाई एसईईका केही शैक्षिक प्रमाणपत्र ल्याउन ताकेता गरेपछि गत बिहीबार मात्र उनी चितवन पुगेका थिए । शुक्रवार बिहान विद्यालय पुगेर कागजात सङ्कलन गरेपछि साँझ माइक्रो बसमार्फत उनी काठमाडौं फर्कँदै थिए । राति १ः२५ बजेको समयमा काठमाडौंमा भएकी दिदी विभासँग फोन सम्पर्क गरेका उनी त्यसपछि भने सम्पर्कमा आएनन् ।
‘फोनमा भाइलाई कहाँ आइपुग्यो भनेर सोधेको थिएँ,’ दिदी विभाले भनिन्, ‘दिदी म आउँदै छु, रातको समय जङ्गलको बीचमा जाममा परेको छु, जाम खुल्यो भने छिट्टै आइपुग्छु भनेको थियो, आनन्दले सुत्नु भनेको भाइको कुरा गर्दागर्दै फोन काटियो, किन भाइले राख्छु पनि नभनी फोन काट्यो भनेर फोन सम्पर्क गर्न खोजेँ, तर फोन लाग्दै लागेन ।’
बाढीपहिरोले सडक अवरुद्ध भएका खबर एकनासले आइरहेका कारण कतै जाममा अलपत्र पर्योकी भन्ने आसमा खोजी शुरू गरेको दिदी विभाले बताइन् । ‘आमाबुवालाई पनि मैले भाइको फोन काटिएको कुरा भनिदिएँ । तर दिउँसोबाट झ्याप्ले खोला पहिरोमा बस र माइक्रो पुरिएको खबरपछि भने हामी आत्तियाैँ, सुरक्षाकर्मीले धमाधम शव निकाल्न थाले, तर हामी जान सक्ने अवस्था थिएन,’ उनले भनिन् ।
चितवनदेखि नै पहिरो खसेको ठाउँमा बुवा र भिनाजुले सोधीखोजी गर्दै जाँदा झ्याप्ले खोलामा खटिएका सुरक्षाकर्मीले शव काठमाडौं लगेकाले उतै जान सल्लाह दिएको विभाले बताए ।
‘सोमवार बिहान शव पहिचान गर्न दिए, त्यसपछि छोराको शव लिएर घर कसरी आइपुगे कुनै होस् छैन, सबै प्रक्रिया पूरा गर्दा साँझ ३ बजे काठमाडौंबाट हिँडेका थियौँ र भोलिपल्ट मङ्गलवार बिहान घर आइपुगेका थियौँ,’ बुवा भरतले भने, ‘छोराको शोकमा बसेको छु, मेरो ठूलो सपना, आशाको दियो पहिरोको लेदोमा हरायो, बाबा इञ्जिनीयर बनेर सरकारी सेवा गर्छु भन्थ्यो, परिवारमा खुसी ल्याउँछु भन्थ्यो सबै चकनाचुर भयो ।’ –रासस–