
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई ऊर्जा मन्त्रालयले १५ बुँदे स्पष्टीकरण सोधेको छ ।
डेडिकेटेड र ट्रंकलाइन विवादमा आफूखुसी गरेको भन्दै स्पष्टीकरण सोधिएको मन्त्रालय स्रोतले लोकान्तरलाई जानकारी दियो ।
स्पष्टीकरणमा प्राधिकरणको विगत ४ वर्षको वित्तीय विवरणसहित धेरै कुराहरू माग गरिएको छ ।
यससँगै प्राधिकरण आफैंले विभिन्न स्थानहरूमा सिमेन्टेड पोल प्लान्ट स्थापना गरी उत्पादन गरेका पोलहरूको लागत मूल्य, बोलपत्रहरूबाट खरिद भएमा विभिन्न पोलको खरिद मूल्य एवं सोसम्बन्धी परिमाणहरूको गत ४ आर्थिक वर्षको अद्यावधिक विवरण पनि माग गरिएको छ ।
हेर्नुहोस् स्पष्टीकरण विवरण
१. नेपाल विद्युत प्राधिकरणको कर्मचारी सेवा, शर्तसम्बन्धी विनियमावली (संशोधनसहितको) एवं आर्थिक प्रशासन विनियमावली (संशोधन समेत) र सोसँग सम्बन्धित विगत ४ वर्ष अवधिमा सञ्चालक समितिले गरेका विभिन्न मितिका निर्णयहरू ।
२. नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिले विगत ४ वर्षको अवधिमा कार्यकारी निर्देशकलाई प्रत्यायोजन गरेको अधिकारको विवरण (निर्णय मिति खुल्ने गरी) ।
३. नेपाल विद्युत प्राधिकरणले छिमेकी मुलुकहरूका व्यावसायिक संस्थाहरूसँग गरेको विभिन्न मितिका सम्झौता एवं समझदारी पत्रहरूको विवरण ।
४. नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनीहरूमा रहेको प्राधिकरणको शेयर संरचना एवं ती कम्पनीहरूको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने पदाधिकारीहरूको विवरण । साथै, ती कम्पनीहरूमा नेपाल विद्युत प्राधिकरणको तर्फबाट हाल काजमा खटिएका कर्मचारीहरूको विवरण ।
५. नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनीहरूको विगत ४ वर्षको वित्तीय विवरण ।
६. नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद सम्झौता गरी सञ्चालनमा रहेका आयोजनाहरूबाट Power Evacuation पूर्ण रुपमा हुन नसकेको अवस्था भए वैकल्पिक मार्ग प्रयोग गरिएको आयोजनाहरूको विवरण ।
७. हिमाल पावर लिमिटेडद्वारा प्रवर्द्धित ६० मेगावाटको खिम्ती – १ जलविद्युत आयोजनासँग स्वामित्व हस्तान्तरणबारे नेपाल विद्युत प्राधिकरणले गरेको वार्तासँग सम्बन्धित विवरण/प्रतिवेदनहरू ।
८. विगत चार आर्थिक वर्षदेखि त्यस प्राधिकरणका विभाग, निर्देशनालय र कार्यकारी निर्देशकबाट स्वीकृत भएका बोलपत्र सम्बन्धी विवरण (जस्तै, ठेक्काको नाम, स्वीकृत भएको रकम भुक्तानीको विवरण, ती ठेक्कासँग सम्बन्धित दायित्वहरूको विवरण आदि) । साथै, यदि विवाद पर्न गएको भए विवादका कारण र कार्य सम्पन्न हुन नसकेका ठेक्का सम्झौताको वर्तमान अवस्था ।
९. विगत चार वर्षमा भएका सञ्चालक समितिका सदस्यहरूको विदेश भ्रमण सम्बन्धी विवरण । ती भ्रमणसँग सम्बन्धित खर्चको विवरण एवं ती खर्च भुक्तानीको स्रोतसम्बन्धी विवरण ।
१०. डेडिकेटेड फिडर/ट्रंक लाइन सम्बन्धी नेपाल विद्युत प्राधिकरणले उठाउन बाँकी रहेको महसुल सम्बन्धमा सञ्चालक समितिमा पेश भएका विभिन्न प्रतिवेदन एवं सो महसुलका सम्बन्धमा सञ्चालक समितिबाट विभिन्न मितिमा भएका निर्णयहरू ।
११. नेपाल विद्युत प्राधिकरणले विभिन्न बोलपत्रमार्फत् खरिद गरी जडान हुन बाँकी स्टोरमा मौज्दात रहेका ट्रान्सफर्मरको अद्यावधिक विवरण (खरिदको लागि प्राप्त माग संकलन र खरिद योजना, खरिद नं., खरिद मूल्य एवं हालको अवस्था सहित)
१२. हाल बोलपत्र आह्वानको लागि तयारी भइरहेको स्मार्ट मिटर लगायतका वस्तु /सामग्रीहरूको विवरण एवं प्रतिस्थापन कार्ययोजना (परिमाण एवं अनुमानित लागत रकम सहित ) ।
१३. नेपाल विद्युत प्राधिकरणले आफैंले विभिन्न स्थानहरूमा सिमेन्टेड पोल प्लान्टहरू स्थापना गरी उत्पादन गरेका पोलहरूको लागत मूल्य, बोलपत्रहरूबाट खरिद भएमा विभिन्न पोलहरूको खरिद मूल्य एवं सो सम्बन्धी परिमाणहरूको गत ४ आर्थिक वर्षको अद्यावधिक विवरण ।
१४. महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा औँल्याइएका बेरुजुमध्ये हालसम्म फर्स्यौट हुन बाँकी रहेका बेरुजुको अद्यावधिक विवरण ।
१५. नेपाल विद्युत प्राधिकरणको केन्द्रीय स्टोर प्रमुखको रूपमा गत ५ वर्षदेखि को-को कार्यरत रहेका छन् ? उनीहरूको पद र योग्यता खुलेको विवरण ।