
सामुदायिक शैक्षिक संस्था रूपनगर नन्दराज संग्रौला क्याम्पस दीर्घकालीन रणनीतिक योजनाका साथ कार्ययोजना बनाएर नयाँ ढङ्गले अघि बढ्ने भएको छ।
सप्तरीको रूपनगरमा रहेको यो क्याम्पसको बुधबार आयोजित साधारण सभामा सार्वजनिक गरिएको पाँच वर्षे रणनीतिक योजनाले विद्यार्थीलाई विश्वविद्यालयले निर्धारण गरेको पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा दिनुका साथै जीवन उपयोगी सीप समेत सिकाउने नीति लिएको छ।
क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले रणनीतिक योजना प्रस्तुत गर्दै क्याम्पसले विद्यार्थीलाई सीपमूलक तालिमहरू दिने, वातावरण संरक्षणमा काम गर्ने, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने, पढाइ र सिकाइमा प्रविधिको अधिकतम प्रयोग गर्ने र समुदाय तथा व्यापारिक क्षेत्रसँग साझेदारीमा काम गर्ने बताए ।
'योजना औपचारिक रूपमा अहिले सार्वजनिक गरिएको भए पनि हामीले यो रणनीति अनुसार एक वर्ष अघिदेखि काम थालिसकेका थियौँ,' प्राध्यापक गजुरेललले भने ।
बुधबार सम्पन्न साधारण सभाले तीन वर्षे कार्यकालका लागि नयाँ सञ्चालक समिति गठन गरेको छ। नव गठित समितिमा गिरिराज संग्रौला अध्यक्ष बनेका छन् । देवी बहादुर खत्री, राज कुमार साह, रीता पोखरेल, ईश्वरी काफ्ले, सुरज पोखरेल र विभा कुमारी महतो सदस्यमा छनौट भएका छन् । क्याम्पस प्रमुख समितिको सदस्य सचिव रहने प्रावधान क्याम्पसको विधानमा छ।
दुई सत्रमा सञ्चालित साधारण सभाको पहिलो सत्रको उद्घाटन राष्ट्रिय सभाका पूर्व सदस्य सुमनराज प्याकुरेलले गरेका थिए । 'यो शैक्षिक संस्थाले समाजलाई योगदान गर्दैछ, त्यसैले हामीले पनि सघाउनु पर्छ,' प्याकुरेलले भने । उनले क्याम्पस प्रमुख क्याम्पस प्रमुख प्रध्यापक गजुरेललाई ल्यापटप हस्तान्तरण गरे । 'कक्षा कोठामा प्रविधि प्रयोग गर्ने तपाईंहरूको नीति अनुसार यसले मद्दत गर्नेछ भन्ने विश्वास लिएको छु।'
शिक्षिका लक्ष्मी श्रेष्ठले क्याम्पसलाई २५ हजार रुपैयाँ र कञ्चनरूप नगरपालिकाकी कार्यपालिका सदस्य सीता पौडेलले पाँच हजार पाँच सय रुपैयाँ सहयोग गरेका छन् ।
कार्यक्रममा कञ्चनरूपका पूर्व नगर प्रमुख बसन्त मिश्र, पूर्व प्रधानाध्यापक तीर्थराज पोखरेल, आदर्श स्कूलका प्राचार्य ईश्वरी काफ्ले लगायतले सभालाई सम्बोधन गरेका थिए ।