गोरखा दरबारस्थित दशैंघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ ।
बिहीबार बिहान शुभसाइतमा दरबारका सुसारेहरूले विधिपूर्वक पूजाअर्चना गरी हनुमान ढोका दरबारका लागि फूलपाती पठाएको गोरखकाली मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले बताए ।
बाजागाजासहितको र्याली निकालेर गोरखा दरबारबाट फूलपाती पठाइएको हो । फूलपाती काठमाडौंको हनुमान ढोका दरबारमा पुर्याइएपछि बिहीबार साँझ हर्कबढाइँका साथ हनुमान ढोका दरबारमा भित्र्याउने प्रचलन छ ।
गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौंको हनुमानढोका दरबारबाट राजकाज शुरू गरेदेखि हरेक वर्ष बडादशैंको सातौँ दिन गोरखा दरबारको दशैंघरबाट फूलपातीसहितको डोली हनुमानढोका दरबारमा भित्र्याउने प्रचलन रहेको उनले बताए ।