विवाह गरेको वर्ष केटा पक्ष (दुलाहा)को तर्फबाट दुलहीका माइतीमा दशैंको एक-दुई दिनपहिले आफ्नो गच्छेअनुसार केरा–कुराउनीका भारी लैजाने चलन थियो । सानै उमेरमा विवाह हुने हुँदा विवाह गरेको वर्ष वा बिजोर वर्ष (३ वर्ष)मा दुलहीको घरका सबै सदस्यलाई पाहुरसहित ल्याएर भात चलाउने (सासु र बुहारीले पकाएर) घरका व्यक्तिलाई खुवाउने चलन पनि थियो ।
सके धेरै, नत्र एक भारी केरा–कुराउनी अनिवार्य लैजाने चलन थियो । कुराउनी–केरा माइती पक्षले खाएपछि विवाह पाको (पक्का) भएको मानिन्थ्यो । यसलाई अर्काको छोरी ल्याएबापतको दस्तुरजस्तो मानिन्थ्यो । केटा पक्षको तर्फबाट केरा–कुराउनी नलगेसम्म छोरीको घर आएर माइती पक्षले केही नखाने चलन थियो ।
मेरो १३ वर्षमा विवाह भयो । मेरो ससुरा मुखिया जिम्ववाल हुनुहुन्थ्यो । ठूलो घर–घरानामा विवाह भएकाले हाम्रो तर्फबाट धेरै केरा–कुराउनी लैजाने कुरा भयो । गाउँमा फलानाको कुराउनी लाने भनेपछि सबैले दूध घरमा ल्याइदिन्थे । छिमेकमा सहयोगको भावना थियो । मानिसहरू सहयोगी र इमान्दार थिए । मिलेर कुराउनी घोटिन्थ्यो ।
थानीडाँडा र दार्सिङबासमा दूध जम्मा गर्दा नपुगेर दिगामबाट पनि दुईपटक दूध ल्याएर घोटियो । जम्मा १३ पाथी कुराउनी भयो । यसरी संकलन गरिएको दूधको पैसा लिन्थेनन् कसैले । केरा किन्नुपर्यो भने एक पैसामा दुई कोसा केरा पाइन्थ्यो । अरू भन्दा मालभोग केराको घरी खोजेर ल्याइन्थ्यो ।
तामाका तमौरामा कुराउनी भरेर डोकोको पिँधमा राख्ने र माथि केरा राखेर कपडाले छोपिन्थ्यो । बेहुलीकी आमालाई छुट्टै पोको रातो कपडाले छोपेर लगिन्थ्यो ।
कुराउनीको भारी लैजाँदा भरियासँग एकजना सरदार पठाइन्थ्यो । सरदारसहित भरियालाई छोरी पक्षले टीका लगाएर, पर्सेर बल्ल कुराउनी भित्र राख्थे र सबै छिमेकीलाई पनि बाँड्थे ।
कुराउनी लैजाने भरियालाई केटा पक्ष र केटी पक्षबाट एक–एक रुपैयाँ दिने चलन थियो । कसैले ५–१० पैसा थपेर दिन्थे । पातमा पोको पारेर दिन्थे । कुराउनीको भारी बोक्नेलाई थप एक पाथी धान दिने चलन थियो।
मेरो विवाहमा पहिला चार भारी केरा–कुराउनी पठाएको र पछि दशैंका दिन एक भारी लिएर गएको थिएँ । दशैंमा ज्वाइँलाई टीका लगाएर कुराउनी र केराको पैसा दिन्थे । त्यो बेला भारीको १० रुपैयाँसम्म दिन्थे ।
केरा–कुराउनीको पैसा घरमा ल्याएर बुवालाई दिने चलन थियो । ज्वाइँलाई छुट्टै दिन्थे । धेरै लानेले १५ भारीसम्म लगेको मलाई थाहा छ ।
पछि यो प्रचलन हट्दै गयो । दूध मागेर पाइन छाड्यो । दिनेले पनि पानी हालेर दिने, दुःख मान्ने, भैँसीले दिएन भन्ने अवस्था आउन थाल्यो । पैसा दिने (कुराउनी खाने माइती पक्ष)ले पनि धेरै दिनुपर्ने भयो ।
अहिलेको नयाँ पुस्ताले यसलाई झञ्झट मान्न थाल्यो । भरियाको सट्टा गाडी रिजर्भ गर्नुपर्ने भयो । नयाँ पुस्ताले केरा–कुराउनी खान नै कम गरे । अचेल विवाह गरेको ३ रातपछि माइती जाँदा नै थोरै कुराउनी, केरा र फलफूल लैजाने चलन भयो । हाम्रो पालाको जस्तो संस्कार अब रहेन ।
(९७ वर्षीय नेत्रप्रसाद पन्थसँग छोरा गिरिराज पन्थको सहयोगमा गरिएको कुराकानी)