१२ साउन २०८३, मंगलबार

पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या

असोज २५, २०८१
काठमाडौं
पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या

क्वेटा–पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा हतियारधारी व्यक्तिहरूको समूहले रातभरि गरेको आक्रमणमा २० जना कामदारको गोली हानी हत्या भएको प्रहरीले शुक्रबार जनाएको छ ।

बलुचिस्तानमा पृथकतावादी लडाकु समूहहरूले नियमित रूपमा प्राकृतिक स्रोत निकासी परियोजनाहरूलाई निशाना बनाउँदै आएको छ । यो पाकिस्तानको सबैभन्दा गरिब प्रान्त हो ।

आक्रमण भएको डुकी जिल्लाका प्रहरी प्रमुख असिम शफीले भने, ‘४० जना आक्रमणकारी स्थानीय समयअनुसार राति १२ः३० बजे आधा घण्टासम्म खानीमा गोली चलाएका थिए ।’ 

जिल्लाका एक वरिष्ठ सरकारी अधिकारी कलीमुल्लाह काकरले सातजना घाइते भएको बताए । 'आक्रमणकारीहरूले घटनास्थलमा रहेको मेसिनरीमा पनि आगो लगाए,’ उनले थपे ।

बलुचिस्तानमा धेरै निकासी योजनाहरू विदेशी देशहरूद्वारा सञ्चालित छन् । उक्त योजनाहरूमा सशस्त्र समूहहरूले आक्रमण गर्दै आएको छ ।

उग्रवादी समूह बलुच लिबरेसन आर्मी (बीएलए)ले आइतबार राति दक्षिणी कराँचीमा एउटा सवारी साधनको काफिलेमा भएको बम आक्रमणमा दुई चिनियाँ कोइला कारखानाका कामदारको मृत्यु भएको दाबी गरेको छ ।

आतङ्ककारीहरूले बलुचिस्तानमा नियमित रूपमा पाकिस्तानका अन्य ठाउँबाट आएका आप्रवासी कामदारहरूलाई निशाना बनाउँछन् ।


 

salt training

कमेन्ट गर्नुहोस्