
बीपी पुत्र डा. शशांक कोइराला १५औं महाधिवेशनको तयारीमा जुटेका छन् । यसअघि दुवैपटक कुनै समूहमा स्पष्ट नखुलेका कोइराला १५औं महाधिवेशनमा भने आफैं अघि सर्ने तयारीमा छन् ।
नेपाली कांग्रेसको १३औं महाधिवेशनमा आफ्नो समूहका नेता रामचन्द्र पौडेल सभापतिमा हार्दा शशांकले सहजै महामन्त्री जितेका थिए । १४औं मा परिवारभित्रैका डा. शेखर कोइराला सभापतिमा उठे पनि शशांकले खुलेर समर्थन गरेनन् । त्यसअघि रामचन्द्रलाई पनि उनले खुलेर समर्थन गरेका थिएनन् ।
१५औं महाधिवेशनमा शेरबहादुर देउवा नदोहोरिने भएपछि शशांकले सभापतिमा आँखा लगाएका हुन् । यसका लागि शशांकले छलफलसमेत चलाएको उनी निकट स्रोत बताउँछ । ‘हामीले केही दिनअगाडि प्रकाशमान सिंह र विमलेन्द्र निधिसँग बस्यौं । यो मिलेर अगाडि बढिहाल्ने भन्ने बसाइ होइन,’ शशांक निकट स्रोतले भन्यो, ‘राजनीतिक रूपमा एउटा विरासतको प्रतिनिधित्व यी तीन नेताले गर्छन् । यसैले कांग्रेसको राजनीतिमा यी तीनमध्ये एकले नेतृत्व गरेर जाने स्थिति भएन भने कांग्रेस दुर्घटनामा जान्छ भन्ने कोणबाट प्रारम्भिक छलफल भएको हो ।’
एकैचोटि पुस्तान्तरण गरिए लामो कालखण्ड राजनीतिमा बिताएकाहरू विस्थापित हुने यी नेताको निष्कर्ष छ । ‘यो पुस्ताभित्र राजनीति रहेन भने एक/दुई जना होइन ३०/३५ जना सिनियर नेता विस्थापित हुन्छन् । युवा आउँदा यो पुस्ताले राजनीति छोडे हुन्छ । यो भनेको शशांक, प्रकाशमान र निधिको मात्रै कुरा होइन । शेखर दाइ, कृष्ण सिटौलासमेतको विषय हो,’ ती नेताले भने, ‘को नेता बन्ने छलफलले टुंगिने विषय हो । तत्काल कांग्रेसमा युवा नेता आए अहिले राजनीति गरिरहेका नेताको भविष्य समाप्त हुन्छ भन्ने साझा बुझाइ छ ।’
दशैंपछि यी तीनबाहेक कृष्णप्रसाद सिटौला, बलबहादुर केसी, अर्जुन नरसिंहसहितका थुप्रै सिनियर नेतासँग संवाद गर्ने तयारीमा शशांक छन् । युवा पुस्तामा नेतृत्व जान नदिने कार्ड फ्ँयाकेर शशांकले यो समूहको नेतृत्व गर्ने तयारी गरेको देखिन्छ । यसको लागि उनले औपचारिक, अनौपचारिक छलफल गरिरहेको नेताहरू बताउँछन् ।
‘उहाँले आफू सभापति बन्ने कुरा मात्रै गर्नुभएको छैन । धेरै नेताको राजनीतिक जीवन अझै ५/६ वर्षसम्म रहनेगरी अपिल गर्नुभएको छ,’ शशांक निकट स्रोत भन्छ, ‘बीपीको पनि छोरा भएकोले उहाँसँग मान्छे ‘कन्भिन्स’ छन् । हेरौं कति खरो उत्रिनुहुन्छ ।’
अहिलेको पुस्ता विस्थापित भए राजनीतिक दुर्घटनासमेत हुने उनीहरूको ठम्याइ रहेको ती नेताले बताए । ‘निसन्देह आजको मितिमा कांग्रेसमा बलियो र क्रियाशील नेता भनेको गगन थापा नै हो । किनकी शक्ति संगठन विस्तारमा उहाँ खरो उत्रिने र बलियो स्थितिमा हुनुहुन्छ,’ शशांक निकटका नेता भन्छन्, ‘तर पनि कांग्रेस ८० वर्ष पुग्न लागेको पुरानो पार्टी हो । युवा पुस्ताको भावना मान्नुपर्छ तर, कांग्रेस अहिले पनि हजुरबाबा, बा, काकालाई मान्ने पार्टी हो ।’
ह्वात्तै युवाले नेतृत्व गर्दाको जोखिम अहिले पार्टीले भोगिरहेको पनि ती नेता बताउँछन् । ‘ह्वात्तै नयाँ मान्छे आउँदा पनि युवाले नेतृत्व गर्न सक्ने अवस्था छैन । किनकी अहिले वडा, पालिका र प्रदेशमा युवा छन् । पार्टीको संरचना यस्तो छ कि युवा सभापति सिनियरको घरमा माइन्युट बोकेर हिँड्नुपरेको छ । गगनहरूको उमेर छ पालो आउँछ तर, तत्काल अहिलेको पुस्ता विस्थापित भए राजनीतिक दुर्घटना हुन्छ ।’ केही समय अघिमात्रै डा. शशांकले महामन्त्री गगन थापाको सभापति बन्ने उमेर नभइसकेको सार्वजनिक रूपमा बताएका थिए ।
अतिरिक्त दायित्व भएको बुझेरै शशांक, सिंह र निधिले छलफल गरेको ती नेताले बताए । ‘लिगेसी सबैथोक होइन र हो पनि । किनकी धेरै मान्छेको राजनीति कांग्रेसको यो पुस्ता विस्थापित हुँदा सकिन्छ भन्ने समान मत छ,’ ती नेताले भने, ‘यसैले पार्टीप्रति अतिरिक्त दायित्व निर्वाह गर्नुपर्छ भन्नेमा उहाँहरू पुग्नुभएको हो । यसैले राजनीतिमा पूर्ण क्रियाशील आशा र भरोसका मान्छेको खोजी भएको हो ।’
शशांकबाहेक प्रकाशमान र विमलेन्द्र निधि १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनिसकेका छन् । देउवासँगै प्रतिस्पर्धा गरे पनि दोस्रो चरणमा सिंह र निधिले दुवैले उनैलाई समर्थन गरेका थिए । जसको कारण शेखर कोइराला पराजित हुन पुगेका थिए ।
सबैलाई देउवाले देलान् भन्ने आश
सभापति देउवापछिको सर्वमान्य नेता नहुँदा दाबेदार सबैलाई उनले आफैंलाई दिन्छन् भन्ने आश भएको एक नेता बताउँछन् । ‘सबैभन्दा सिनियर नेताले आफैं घोषणा गरेर अब मेरो उमेर भयो भनिसक्नुभएको छ । यसैले शेरबहादुर दाइपछि यही सर्वमान्य भन्ने छैन,’ ती नेता भन्छन्, ‘सभापति आफू नलड्दा पूर्णबहादुर खडका, शशांक, शेखर, गगन, विमलेन्द्र निधि, प्रकाशमान, कृष्ण सिटौला नै विकल्प हुन् । सबैले मलाई देलान् भन्ने आशा गरेर बसेका छन् । हेरौं यसमा कसले बाजी मार्छ ।’
उपसभापति खड्काप्रति देउवाले पनि भरोसा नगरेको नेताहरू दाबी गर्छन् । शशांक र शेखर दुवैले देउवाले आफूलाई सभापति छोड्ने आशा गरेका छन् । १३औं महाधिवेशनमा सघाएका शशांकको देउवाप्रति झन् बढी भरोसा रहेको नेताहरू बताउँछन् ।
के छ कोइराला परिवारभित्रको समीकरण ?
यसअघिजस्तै समूहको नेताका रूपमा शेखरले फेरि पनि सभापतिमा दाबेदारी गरेका छन् । संस्थापनइतर समूह एक ठाउँमा नभए पनि प्राविधिक रूपमा शेखर समूहका नेता छन् । गगनको समेत सभापतिमा दाबेदारी रहँदा शेखरले पनि तयारीलाई छोडेका छैनन् ।
तर, अब बीपीका पुत्रसमेत भएको बलियो विरासत देखाउँदै शशांकले सभापतिको लागि बढी तयारी गर्ने संकेत देखाएका छन् । ‘हाम्रोमा कोइराला विरासत भनेर चर्चा गरिन्छ । तर, अहिले कोइराला भनेको शेखर मात्रै हो भने यो विरासत होइन । यसले अर्थ पनि राख्दैन,’ कोइराला परिवार निकटकै एक नेता भन्छन्, ‘कोइराला भनेर शशांक, शेखर र सुजाता जुनसुकै होस् भनेर कुरा गर्दा बिग्रँदैन । तर, नामै तोकेर शेखर शेखर मात्रै भन्दा माहोल बिग्रन्छ । सबै कोइराला फेरि एक ठाउँमा हुँदैनन् ।’
जो लडे पनि सहयोग गर्ने कुरा दाजुभाइमा भए कुरा मिल्न गाह्रो नहुने ती नेता बताउँछन् । एकपटक पाएको अवसरमा खरो उत्रिन नसकेपछि शशांकले अब आफूले विरासतका रूपमा पनि दाबेदारी गर्ने संकेत गरेका छन् । ‘कोइराला लिगेसीलाई रिप्रिजेन्ट गर्नुपर्यो । सबैसँग सहकार्य खोज्ने र मिलाउन सक्ने सामथ्र्य देखाउनुपर्यो,’ कोइराला परिवार निकटका एक नेता भन्छन्, ‘यसमा खरो जो उत्रिन्छ उसैले नेतृत्व गर्छ ।’
राजनीतिक विश्लेषक शंकर तिवारी १४औंमाभन्दा १५औं मा शशांकलाई सभापतिमा तयारी गर्न धेरै मेहनत आवश्यक हुने बताउँछन् । ‘शशांकको हकमा १४औं जति सहज हुन्थ्यो । १५ औंमा लड्न थप मेहनत गर्नुपर्ने देखिन्छ । कोइरालाहरू पहिल्यैदेखि लागे । अरू पनि जो लागे दुई/तीन पुस्ताले अविछिन्न लगानी गरेको छ । पार्टी कार्यकर्ताको कोइरालाहरूसँग इमोसनल र पारिवारिक सेन्टिमेन्छ,’ तिवारी भन्छन्, ‘यो सेन्टिलाई प्रयोग गर्ने, देशको चेन्जिङ सामाजिक संजाल, नागरिक, बाहिरको भोटरसँग कम्युनिकेट गरेर टिम बनाउने र पार्टी नेतृत्व गर्छुभन्दा शशांकलाई अवसर छ ।’ निधि र सिंहलाई पनि शशांकलाई अगाडि बढाउँदा फाइदा हुने उनी बताउँछन् ।