×

राजावादीहरूको आत्मरति

पूर्वपञ्चहरूको विनासाइतको हर्षबढाइँ र गणतन्त्रवादीहरूको लाचारी

‘गणतन्त्रपछिका सरकारको असफलता देखेर राजावादीहरू सल्बलाउन थालेका छन्’

काठमाडाैं | असोज २८, २०८१

पूर्व राजाको हातबाट टीका लगाउँदै मनिषा कोइराला

दशैंको टीका लगाउन निर्मल निवासमा भेला भएका दुई–चारसय पूर्वपञ्चहरूको लाइन देखेर कतिपयले फेरि एकपटक राजतन्त्र फर्काउने ‘सपना’ देख्न थालेका छन् । 

Laxmi Bank

दशैंको केही दिन पहिले पूर्व राजपरिवारका सदस्यले गरेको भुटान भ्रमणको सन्दर्भ समेत जोडेर फेरि एकपटक नेपालमा राजतन्त्र ब्यूँताउने बेमौसमी बहस शुरू भएको छ । 


Advertisment

त्यस्तो बतासे परिकल्पनाको नेतृत्वचाहिँ पूर्व पत्रकार रवीन्द्र मिश्रले गरेका छन्, जो अहिले राप्रपाको वरिष्ठ उपाध्यक्ष छन् । ज्ञानेन्द्रसँग टीका लगाउन पाएकोमा हर्ष विभोर मिश्रले लेखे, ‘यही वर्ष नारायणहिटीमा टीका लगाउन पाइएला भनेको एक वर्ष ढिला हुने देखियो । अर्को वर्ष त पक्का हुन्छ भन्नेमा विश्वस्त छु !’ 


Advertisment

महजोडीलाई माथ गर्ने रवीन्द्र मिश्रको प्रहसनले स्वयं पूर्वराजालाई समेत अप्ठ्यारो परेको हुन सक्छ । मानौं कि, पूर्वराजा नारायणहिटी फर्किने साइत जुरिसकेको छ ।

रवीन्द्र मिश्रजस्तो देश दुनियाँ र भूराजनीति बुझेको व्यक्तिले अर्को वर्ष देशमा राजतन्त्र फर्किएर नारायणहिटीमै टीका लगाउने सपना देख्नु ‘फिक्सन’जस्तै हो । 

थोरै चर्चा गरौं– कुन अवस्थामा नेपालमा राजतन्त्र फर्किन सम्भव होला ? 

ज्ञानेन्द्र शाह (पूर्वराजा) नारायणहिटीबाट नागार्जुन हुँदै निर्मल निवास पुर्‍याउन काठमाडौंमा कति ठूलो आन्दोलन भएको थियो ? राजतन्त्र जोगाउन दरबारप्रति बफादार त्यो बेलाको शाही नेपाली सेनाले कति बल गरेको थियो होला ? त्यसका बाबजुद लाखौं जनता सडकमा ओर्लिए । परिस्थिति राजनीतिक दलका नेताले सम्झौता गरेर पनि नटुंगिने अवस्थामा पुगिसकेको थियो । 

काठमाडौंका जनताले चक्रपथ घेराउ गरेपछि सरकारको समेत नेतृत्व गरेका राजा आफैं झुके । संसद् पुनःस्थापना हुँदै जनताको अभिमतबाट त्यसपछि गणतन्त्र स्थापना भयो । तत्कालीन राप्रपा नेपालका ४ सांसदबाहेक सबैले गणतन्त्रको पक्षमा मतदान गरेका थिए । अर्थात्, ९९ प्रतिशत जनप्रतिनिधिको समर्थनमा देशमा गणतन्त्र स्थापना भएको थियो । 

कुनै पनि व्यवस्था उल्टाउन त्यो व्यवस्था ल्याउन भएको भन्दा ठूलो आन्दोलनको आवश्यकता पर्छ ।

राजतन्त्र फिर्ता गर्न २०६२/०६३ सालको जन–आन्दोलनलाई माथ गर्ने आन्दोलन आवश्यक पर्छ । के निकट भविष्यमा त्यति ठूलो आन्दोलन नेपालमा हुँदैछ ? 

अनि दुर्गा प्रसाईंको जस्तो असंगठित आन्दोलनले नेपालमा राजतन्त्र फर्काइदिन्छ ? असम्भव !

त्यो बेला जनआन्दोलनको नेतृत्व गरेका ७ दल प्लस माओवादीले अपिल गर्दा पनि फेरि त्यसको एकतिहाइ जनता आन्दोलनमा आउन सम्भव छैन ।

आफैंमा थकित पूर्वपञ्चको केही झुण्डसँग राजतन्त्र फिर्ता ल्याउने आन्दोलन गर्ने ताकत शायद बाँकी छैन ।

मनीषा कोइराला र रवीन्द्र मिश्रजस्ता ‘सोसल मिडिया सेलिब्रेटी’हरू दशैंको टीका थाप्न निर्मलनिवास पुगेपछि दशैंको फुर्सदिलो समयमा राजतन्त्रबारे बहस स्वभाविक छ । 

null

गणतन्त्रवादीहरूको लाचारी !

नाम मात्रको ‘कागजी’ गणतन्त्रबाट के नागरिक सन्तुष्ट छन् त ? बिल्कुल छैनन् । गणतन्त्रपछिका कुनै पनि सरकारले जनतालाई सन्तुष्टि दिने ढंगले काम गरेका छैनन् ।

अहिलेका ‘टाइमपास’ सरकारका कार्यक्षमतालाई अंक दिनु पर्दा १०० मा १० नम्बर दिन पनि कन्जुस्याइँ गर्नुपर्छ । 

गणतन्त्र स्थापनाका १७ वर्षमा आलोपालो सरकारको नेतृत्व सम्हालेका दलहरूको कार्यशैली सम्झनलायक छैन, किन्तु राजतन्त्रको भन्दा त बेटर छ ।

निरंकुश राजतन्त्रकालमा नागरिकमाथि भएको ज्यादती यो पुस्ताले अझै बिर्सिसकेको छैन । 

गणतन्त्रका कमजोरी छन्, तर यो व्यवस्थामा फिल्टर हुँदै सक्षमहरू नेतृत्वमा पुग्नेछन् । देशमा अक्षम शासन चलाइरहेकाहरू निकट भविष्यमै बाध्यकारी अवकाशमा जाँदैछन्, सम्भवतः २०८४ सालको चुनावबाट ।

शासन सञ्चालनका पात्रहरू ‘नालायक’ नै भएपनि जनताका छोरा–छोरी राष्ट्रपति बन्न पाउने व्यवस्था खराब हुँदै होइन । शासनमा हालीमुहाली गरिरहेका व्यक्तिको कमजोरीको दोष व्यवस्थालाई दिन मिल्दैन, बरु सक्षमलाई अवसर देऊ भनेर दबाब सिर्जना गर्नुपर्छ । राजनीतिक दलका सदस्य र प्रगतिशील युवाको डिस्कोर्स अब यतातर्फ हुनुपर्छ । 

गणतन्त्र समकालीन नेताहरूले युद्ध लडेर ल्याएको पेन्सन होइन कि उनीहरू मर्दा लिएर जाने । गणतन्त्र जनता जुरुक्क उठेपछि आएको परिवर्तन हो, यसमा जनताको हिस्सेदारी छ । आफूलाई गणतन्त्रको ठेकेदार दाबी गरिहेकाहरूको शेखपछि पनि यो व्यवस्था रहिरन्छ । झन् उन्नत बन्दै जानेछ ।

भुटान भ्रमणको अन्तर्य 

पूर्वराजाले गरेको भुटान भ्रमण र त्यहाँ पाएको ‘सम्मान’लाई लिएर चर्चा चलिरहेको छ । राजनीतिक दलका नेताले समेत यो भ्रमणबारे टिप्पणी गरेर चर्चामा ल्याइदिएका छन् । 

स्वयं ज्ञानेन्द्र शाहले भ्रमणलाई पारिवारिक भनेका छन् । आफ्नो भ्रमणबारे शाहले दशैंको टीकापछि भनेका छन्– ‘हालै म भुटान गएको थिएँ, त्यसको चासो र जिज्ञासा भएको छ । त्यो निजी भ्रमण थियो । त्यहाँको राजपरिवार र भुटानी जनताले मलाई दर्शाएको स्वागत, सम्मान, मित्रतालाई मैले के ठानेको छु भने त्यो नेपाल र नेपालीलाई गरेको हो । त्यहाँँको राजपरिवार र जनतालाई हृदयदेखि हार्दिक धन्यवाद र कृतज्ञता दिन चाहन्छु ।’

तर, यहाँ उनको भ्रमणलाई लिएर अनेक थरी चर्चा हुने गरेको छ । कसैको इसारामा ज्ञानेन्द्र इत्यादि । भुटान भ्रमण ज्ञानेन्द्रको पारिवारिक थियो ।

पाहुनालाई सम्मान दिइनु सामान्य शिष्टाचार थियो । भुटान भ्रमणमा गएको, त्यहाँ उनलाई नेपालमा राजतन्त्र ब्यूँताउने आश्वासन दिइएको, आदि 

आफ्ना नागरिकलाई शरणार्थी बनाएर लखेटेजस्तो नेपालमा राजतन्त्र फर्काउने ताकत भुटानसँग छैन, न त स्वदेशको परिस्थिति त्यस्तो छ ।

२१ औं शताब्दीको आधुनिक जमानामा १८ औं शताब्दीमा जस्तो बलजफ्ती राजा थापना गर्ने कुरा सम्भव छैन । जनताले नै नरुचाएपछि कसैको जोडबलले राजतन्त्र फर्किन सम्भव हुने छैन । लोकतान्त्रिक मुलुकमा त्यो जोखिम मोल्न कुनै अदृश्य शक्ति तयार हुने अवस्था पनि देखिएको छैन । 

पूर्वराजाको भ्रमणबारे माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि असान्दर्भिक टिप्पणी गरे– ‘संकटको अभिव्यक्ति’ भनेर । 

‘मलाई कहीँ कतै राजा आउँछन् भन्ने लाग्दैन । त्यो सम्भव छैन । इतिहासको विकासका दृष्टिकोणले राजतन्त्रबाट गणतन्त्रमा गइसकेका छौं । गणतन्त्रमा गएका जनता राजतन्त्रमा फर्किन विश्व इतिहासमा अपवाद हो । तर, संकटको अभिव्यक्ति गरेको छ,’ सम्पादकहरूसँगको भेटमा प्रचण्डले भनेका थिए । 

पूर्वराजाको भ्रमण कसरी आन्तरिक संकट हो ? पूर्वराजाको भ्रमणले आन्तरिक राजनीतिमा संकट भन्नु गणतन्त्रवादीको नालायकी र लाचारी हो । आफ्नो कमजोरी लुकाउन अरूलाई आरोप लगाउने या षड्यन्त्र देख्ने नेपाली रोग बनिसकेको छ । पूर्वराजा सल्बलाउँदा आन्तरिक संकट कसरी आउँछ भनेर गणतन्त्रवादीले समीक्षा गर्नुपर्दैन ?  

‘गणतन्त्र’को खोल ओडेर राज्यस्रोतमाथि यस्तै लुट कायम रह्यो भने भविष्यमा व्यवस्थामाथि संकट नपर्ला भन्न सकिँदैन । तर, एउटा कुरा ठोकेर भन्न सकिन्छ– रवीन्द्र मिश्रले अर्को वर्ष र आगामी वर्षहरूमा नारायणहिटीमा ‘राजा’बाट टीका लगाउने अवसर पाउने छैनन् । यो विना साइतको हर्षबढाईं धेरै दिन टिक्ने छैन ।

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

जेठ २, २०८१

सहकारीपीडितको अर्बौ‌ं रकम अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको पक्षविपक्षमा नेपाली कांग्रेस र नेकपा एमाले विभाजित हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चेपुवामा परेका छन् ।&nb...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

मानसिक अशान्तिका कारण र असर

मानसिक अशान्तिका कारण र असर

कात्तिक २४, २०८१

मानसिक अशान्ति निकै दर्दनाक अशान्तिमा पर्छ, जुन परस्त्री, परपुरुष, परद्रव्य, परप्राण र परवृत्तिसँग सम्बन्धित रहेको हुन्छ । यसको अर्थ अन्य कारणले मानसिक अशान्ति हुन्न भन्ने होइन तर, त्यो क्षणिक हुन्छ । केही समय रहन्छ । व...

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व

कात्तिक २१, २०८१

 धर्मेन्द्र झा  ‘नहाए–खाए’ सँगै यस वर्षको महापर्व छठ मङ्गलबार सुरु भइसकेको छ । बुधबार साँझ खरनासँगै परिवारकी मुख्य महिला र अन्य श्रद्धालुले व्रतसँगै पूजा गर्ने प्र...

'इतिहासका पाना पल्टाउन ढिला नगरौं, नत्र अरू कसैले हामीलाई नै पल्टाउने छ'

'इतिहासका पाना पल्टाउन ढिला नगरौं, नत्र अरू कसैले हामीलाई नै पल्टाउने छ'

कात्तिक २०, २०८१

३०३६ सालको जनमत संग्रह घोषणाको तिथिसम्म नेपाली राजनीतिमा दुई धुरी मात्र थिए, निर्दलीय पञ्चायत र कांग्रेस । अरू दलहरू सैद्धान्तिक रूपमा मात्र उपस्थित थिए, शक्तिको रूपमा होइन । विस्तारै उनीहरू फैलँदै थिए । तत्काल...

x