
पर्यटकीय राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने कामले गति लिन सकेको छैन । विसं २०७८ माघमा दुई वर्षे ठेक्कामा गएको उक्त आयोजनाको भौतिक प्रगति हालसम्म जम्मा ५० प्रतिशत पुगेको छ ।
नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीले निर्माण कम्पनीको ढिलासुस्तीका कारण आयोजना सुस्त भएको बताए ।
“अनेक अड्को र कारण देखाउँदै निर्माण कम्पनीले समयमा काम गर्न सकेको छैन”, उनले भने, “गत वर्ष माघमा थपिएको ठेक्का म्याद पनि सकिन लागेपछि पुनः म्याद थपका लागि प्रकृया अगाडि बढेको छ ।” इन्जिनियर सुवेदीले अहिलेकै गतिमा काम भएमा आयोजनालाई पूर्णता दिन वर्षौँ लाग्ने बताए । उनका अनुसार गत कात्तिकमा आयोजनाको प्रगति २५ प्रतिशत पुगेकामा त्यसयता वर्षदिनमा जम्मा २५ प्रतिशत प्रगति थपिएको हो ।
भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले पोखरा र भरतपुरमा तार बिछ्याउन रु दुई अर्ब ५० करोड ३३ लाखमा ठेक्का लिएको थियो । ठेक्का सम्झौता भएको १५ महिनापछि २०८० वैशाखको अन्तिमतिर पोखरामा तार बिछ्याउने काम सुरु गरिएको थियो । इन्जिनियरिङ डिजाइन र उपकरण खरिदमा समय लागेकाले काम ढिलो सुरु भए पनि पछिल्लो समय भने निर्माण कम्पनीको लापरबाहीका कारण आयोजना सुस्ताएको इन्जिनियर सुवेदीले बताए ।