१७ असार २०८३, बुधबार

डेङ्गु सङ्क्रमितको सङ्ख्या १९ हजार नाघ्यो, सबैभन्दा बढी काठमाडौंमा

असोज ३०, २०८१
काठमाडौं
डेङ्गु सङ्क्रमितको सङ्ख्या १९ हजार नाघ्यो, सबैभन्दा बढी काठमाडौंमा

देशभर डेङ्गु सङ्क्रमण तीव्ररूपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)को पछिल्लो तथ्याङ्क अनुसार डेङ्गु सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ । डेङ्गु सङ्क्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् ।

डेङ्गु सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । डेङ्गु सङ्क्रमण सबैभन्दा बढी काठमाडौंमा फैलिएको छ । 
काठमाडौंमा डेङ्गु सङ्क्रमणबाट हालसम्म तीन हजार एक सय तीन जना प्रभावित बनेका छन् । यस्तै कास्कीमा दुई हजार आठ सय ४७ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । 

यस्तै तनहुँमा दुई हजार एक सय सात, पर्वतमा एक हजार पाँच सय ६२, चितवनमा नौ सय ७१, ललितपुरमा आठ सय २७, गोरखामा ५ सय ८८, बाग्लुङमा छ सय १०, भक्तपुरमा तीन सय ५५ तथा स्याङ्जामा तीन सय ३५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको महाशाखाले जनाएको छ ।  

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका रिसर्च युनिटका संयोजक तथा सङ्क्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुन भन्छन्,'पोस्ट मनसुन सुरु हुँदा डेङ्गुको  जोखिम बढ्ने सम्भावना हुन्छ । दशैंलगत्तै अस्पताल आउने डेङ्गुका बिरामी बढिरहेका छन् । समुदायमा डेङ्गु सङ्क्रमण फैलिएको देखिन्छ ।'

विसं २०८० को पुस मसान्तसम्म देशभर झण्डै ५२ हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएकामा २० जनाको मृत्यु भएको थियो । डेङ्गु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । 

लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नुपर्छ ।  

डेङ्गु सङ्क्रमणबाट बच्न मुख्यतः लामखुट्टेको टोकाइबाट जोगिनुपर्छ । डा पुन भन्छन्, 'झूलको प्रयोग गर्नु राम्रो हुन्छ । जटिल लक्षण देखिए स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।'
 

salt training

कमेन्ट गर्नुहोस्