
बडादशैंको मेसोले झ्याप्पै छोप्दै गर्दा अविरल झरी परेपछि मुलुकभरबाट दुःखद् खबरहरू सुन्नुपर्यो । दशैंको मुखमा नेपालको आधा जनसंख्या रहेको पूर्वी नाका मानिएको बी.पी. राजमार्गमा सबैभन्दा बढी क्षति पुग्यो । काभ्रेको धुलिखेल हुँदै बर्दिबास निस्किने बी.पी. राजमार्गमध्ये सिन्धुलीको नेपालथोक, मूलकोट र खुर्कोट बाढीपहिरोको केन्द्रबिन्दू बन्यो ।
दशैंको उल्लासमय वातावरण बन्दै गर्दा एकाएक आएको बाढिपहिरोबाट सबैभन्दा धेरै मानवीय क्षति काभ्रेले बेहोर्नुपर्यो । भौतिक क्षतिको हिसाबमा सिन्धुली अगाडि रह्यो । त्यसबाहेक राजधानीबाट पूर्वी नेपाल जानका लागि दशैं योजना बनाएका लाखौं यात्रु यतै रोकिए । स्थानीयहरूको घर, व्यावसायिक रिसोर्ट, होटल, पेट्रोलपम्प सबै ध्वस्त भएका छन् ।
जापान सरकारको सहयोगमा जाइकाले नयाँ प्रविधि अप्नाई निर्माण गरिएको राजमार्गका रहरलाग्दा उकाला घुम्ती बी.पी. राजमार्गका सौन्दर्य हुन् । सामान्य अवस्थामा १० हजार बढी सवारीसाधान आवत–जावत गर्ने बी.पी. राजमार्गमा दशैंको मुखमा त्यसको तेब्बर सवारी साधन सञ्चालन हुने थियो ।
संघीय सरकारले दशैंअघि बी.पी. राजमार्ग खुल्दैन भनेर पत्रकार सम्मेलन नै गर्यो । तर, काभ्रे र सिन्धुलीका दुई प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटा र राजन दाहाल (लेखनाथ) अहोरात्र खटेर १३ दिनमै एकतर्फी राजमार्ग खुलाउन भूमिका खेले । फूलपातीका दिन एकतर्फी बाटो खुलाएर थोरै भए पनि पूर्वी नेपालका जनताले खुशीको अनुभूति गरे ।
बाढिपहिरोबाट क्षति पुगेदेखि ‘फिल्ड’मै रहेका बास्कोटा र दाहालले संघीय सरकारको पहलविना कसरी बाटो खुलाए ? र बाढीपहिरोबाट बिचल्ली भएका जनतालाई कसरी राहत उपलब्ध गराए ? सांसदद्वय फिल्डबाट मंगलबार साँझ राजधानी आइपुगेका छन् । उनीहरूको अनुभव छ, ‘यो विपद्ले समाधान लिएर आएको छ । अब विकासको मोडल फेरिनुपर्छ । बढी क्षति पुर्याउने मूल जरो जथाभावी सञ्चालन गरिएका अवैध क्रसर खानी हुन् ।’
करिब ८७ किलोमिटर बाटो क्षतविक्षत छ । बाँकी रहेको बाटोमा पनि माथिबाट ढुङ्गा खस्ने सम्भावना र तल जग पुरै हल्लिएर जीर्ण बनेको अवस्था छ । १३ गतेदेखि १२/१३ वटा डोजर, एक्साभेटर चलाएर फूलपातीका दिनबाट एकर्फी बाटो खुलाउन सफल भएको सिन्धुलीका सांसद राजन दाहालले बताए ।
‘प्रदेश सरकार त कहीँ देखिएन । संघीय सरकारले दशैंअघि बी.पी. राजमार्ग खुल्दैन भनेर पत्रकार सम्मेलन नै गर्यो । सिन्धुलीका सातवटै पालिका र व्यवसायी साथीहरूलाई आग्रह गरेपछि १२/१३ वटा डोजर, एक्साभेटर रात–दिन सञ्चालनमा ल्यायौं, जसका कारण फूलपातीको दिन एकतर्फी बाटो खोल्न सफल भइयो । आज (मंगलबार) काठमाडौं आइपुगेको छु’, दाहालले लोकान्तरसँगको भेटमा भने ।

म्शिनमा तेल हालिदिएपछि व्यावसायीहरूले निरन्तर काम गरेको दाहालले बताए । विदेशमा रहेका आफ्ना सम्पर्कका सहयोगीहरूलाई आह्वान गरेपछि आत्मबल झन् बढेको उनले बताए । ‘संघीय सरकारले हेलिकप्टरबाट हेरेर दशैंअघि बी.पी. राजमार्ग खोल्न सकिन्न भन्ने निर्णय गर्यो । अहिलेसम्म संघीय सरकारबाट एक रुपैयाँ पुगेको छैन । रोशी डाइभर्सन गरेर एकतर्फी भए पनि बाटो खुलाउने काम फिल्डमै बसेर गरियो’, दाहालले भने ।
जापानले बनाएको बाटो अब पुनर्संरचना गर्नुपर्ने शिक्षा यो विपद्ले दिएको उनले बताए ।
‘यो बाटो निर्माण गर्दा जापानिजहरूलाई पनि सवारी साधनको चाप यसरी बढ्छ भन्ने अनुमान थिएन । यसले अब चार लेनको बाटो बनाउनु पर्छ भन्ने चेत जगाएको छ’, दाहालले भने, ‘जापानले बनाएको बी.पी. राजमार्गको नामोनिशान छैन । अहिले मरिन, रोशी डाइभर्सन गरेपछि बगरैबगर गाडी चलेका छन् ।’
चौकीडाँडा, नार्केमा बाटो केही फराकिलो बनाएपछि दोहोरो सवारी साधन चल्ने उनले बताए ।
विपदको बेला नीति–नियम कुरेर बस्दा जनता भोकै बस्ने स्थिति देखिएपछि चामल, नुन, तेल, खानेपानी पाइप बजारबाट पुरै उधारोमा उठाएको उनले बताए ।
‘विद्युत् प्राधिकरणले ६ महिनामा नसक्ने काम डेढ सय प्राविधिक मार्फत गराएर ७ दिनमै बिजुली बाल्न सफल भयौं । विपद्को बेला इच्छाशक्ति भए काम हुँदोरहेछ भन्ने देखियो’, उनले भने ।
यसैवर्षको बजेट शीर्षकमा खुर्कोट–चियाबारीको सुरुङ मार्गका लागि रकम छुट्टिएकाले त्यसका लागि तत्कालै पहल गरिने दाहालले बताए । खुर्कोट–चियाबारीबीचको दुरी ३६ किलोमिटर छ । सुरुङमार्ग खोलेपछि ८.४ किलोमिटर हुनेछ । ‘बी.पी.ले पारिपाट्टी खनेको बाटो जस्ताकोतस्तै छ । जुद्धशम्शेरले बनाएको पुललाई बाढीले छोएन । तर, जाप्निज प्रविधिले बनाएका सबै संरचना बगाए । अब बाटो पुननिर्माणको डीपीआर नै बदल्नुपर्छ’, दाहालले भने ।
काभ्रेमा मात्रै ७८ जनाले ज्यान गुमाएका छन् । ६ जना अझै बेपत्ता छन् । प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटा १३ गतेदेखि फिल्डमै रहेर मंगलबार साँझ निवासमा फर्किएका छन् ।
‘काभ्रे जिल्लाभरी ६०–६५ किलोमिटर मोटरबाटो कामै नलाग्ने गरी भत्किएको छ । मानवीय क्षति त सबैभन्दा बढी काभ्रेमै भयो । आज (मंगलबार) दिउँसोसम्म ४ हजार घरपरिवारको बास तत्कालै सार्नुपर्ने भएको छ । अहिले तत्काल खाद्यान्न, खाना पकाउने भाँडा, त्रिपालको मात्रै व्यवस्था गरेर फर्किएको छु । खानेपानीमा धेरै क्षति भएको छ । त्यससँगै विद्युत् लाइनको काम तत्काल गर्नुपर्ने भएको छ ।’
बास्कोटाले आफ्नै पार्टी नेतृत्वको सरकारलाई प्रश्न गर्दै विपद् व्यवस्थापन गर्न नसकेको भनेर आलोचना गरेका छन् ।
‘विपद् व्यवस्थापनका लागि सरकारले के गर्यो भनेर प्रश्न गर्नुपर्ने बेला भएको छ । सदनमा अरनिको राजमार्ग, बनेपाबाट पूर्व जाने बी.पी राजमार्ग, पनौती–रोशी खण्डको माथिल्लो भागको खानी र पानीको मुहान एकै ठाउँमा हुन सक्दैन भनेर बारम्बार आवाज उठाएँ । सरकारले सुनेन । अहिले सबैभन्दा बढी क्षति त्यसैबाट भयो’, बास्कोटाले भने ।

‘जहाँको चपरी, त्यहाँको दुवाली’ भन्ने अवधारणाका आधारमा सार्वजनिक, पर्ती जग्गा, सरकारी वा सामुदायिक वन जहाँ बस्ती निर्माण सुरक्षित हुन्छ, त्यो ठाउँमा बस्ती बसाल्न तत्कालै कार्ययोजना बनाउनुपर्ने सुझाव बास्कोटाको छ । पूर्वमन्त्री समेत रहेका बास्कोटा नेकपा एमाले (काभ्रे– २) बाट निर्वाचित सांसद हुन् । खरो स्वभाव उनको पहिचान हो । माओवादी केन्द्रबाट निर्वाचित सिन्धुलीका सांसद दाहाल पनि खरो स्वभावका कारण परिचित छन् ।
माननीयद्वय यसपटक विपद्को अवस्थामा फिल्डको अनुभवले विकासको मोडल फेर्नुपर्ने निष्कर्षमा पुगेका छन् ।
‘खानी र पानी एकै ठाउँमा चल्दैन । एकै ठाउँमा खानी र पानी चलाउने कुराले नै नदीको सतह माथि आउने रहेछ । यसले दायाँबायाँको बस्ती र खेतीपाती सबै हान्दोरहेछ’, बास्कोटाले फिल्डको अनुभव सुनाउँदै भने ।
उता सिन्धुलीको अनुभव पनि उस्तै रहेको दाहालले सुनाए । ‘क्रसर उद्योगहरू मनलाग्दी ढंगले चलेका छन् । अवैध ढंगले ढुंगाखानी उत्खनन् गरिएका छन् । त्यसलाई नरोके यस्ता विपद् पुनः दोहोरिने छ’, दाहालले भने ।
बी.पी राजमार्गलाई चार लेनमा विस्तार गर्नुपर्ने उनको भनाइ छ ।
बी.पी. राजमार्ग जापानले ‘जियोटेक्निक’बाट निर्माण गरेको हो । जापानले यो प्रविधिलाई ‘प्रयोगशाला’का रूपमा उपयोगमा ल्याएको इन्जिनीयर प्रकाश जी.सी.ले बताए । बी.पी. राजमार्गमा जापानले प्रयोगमा ल्याएको प्रविधि असफल भएको इञ्जिनियर जि.सी.को भनाइ छ ।
‘डीपीआर गर्दा सय वर्षकै लागि गरिन्छ । तर, मूलकोटमा खोला हिँड्ने बगरलाई मिचिएकै थियो । क्रसर उद्योगका कारण खोलाको लेभल बढेको देखिन्छ ।
पहाडको उच्च भूभागबाट झर्ने खोलाको करेन्ट उच्च हुन्छ । त्यसले दायाँ–बाँया हान्दा ठूलो क्षति भएको देखिन्छ’, जी.सी.ले भने ।
बढीपहिरोबाट अहिले सबैभन्दा बढी जनधनको क्षति हुनुमा मानवीय क्रियाकलाप मूल कारण बनेको देखिन्छ ।
बी.पी. राजमार्गका करण बसेका नयाँ बजार र बस्तीको नामोनिशान छैन । यस्तो विपद् दोहोरिन नदिनका लागि नयाँ गुरुयोजना बनाएर काम गर्नुपर्ने अवस्था छ । त्यसले मात्र बी.पी. राजमार्गको पुरानो वैभवलाई पुनर्जागृत गर्नसक्छ ।