२३ असार २०८३, मंगलबार

पाँच रसियन आरोहीको शव काठमाडौं पठाइयो

असोज ३०, २०८१
म्याग्दी
पाँच रसियन आरोहीको शव काठमाडौं पठाइयो

धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच जना रसियन पर्वतारोहीको शव सङ्कलन गरेर आज काठमाडौं लगिएको छ ।

सात हजार एक सय मिटर उचाइमा उनीहरूको शव भेटिएको थियो ।​

रसियन पर्वतारोहीको शव हेलिकप्टरमार्फत काठमाडौं पठाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए । 

एयर अल्टिच्युडको हेलिकप्टरबाट हिमालमा पुगेका सेभेन समित ट्रेकका सञ्चालक मिङमा शेर्पासहितको शेर्पाको टोलीले शव उठाएर इटली आधार शिविर झारेका थिए ।

इटली आधार शिविरबाट शवलाई काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा पठाएको प्रनाउ श्रेष्ठले बताए । 

आधार शिविरको हाइक्यापमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरू सात हजार छ सय मिटरको उचाइबाट यही असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए ।

प्रहरीका अनुसार रसियाका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव २३ गते दिउँसो भेटिएको थियो ।

हेलिकप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा रहेको शव मौसमको खराबी र प्रतिकूल भूगोलका कारण सङ्कलन गरेर घटनास्थलबाट ल्याउन ढिलाइ भएको हो ।

उद्धारकर्ता हेलिकप्टरबाट रसीमा झुन्डिएर शव भएको ठाउँमा पुगेका हुन् । 

आइ एम ट्रेकिङ एन्ड एक्सपिडिसनमार्फत १४ जना रसियाका पुरुष पर्वतारोहीहरू धौलागिरि हिमाल आरोहणका लागि गएका थिए ।

दुई जनाले सफल आरोहण गरेका थिए । सात जना पर्वतारोहीहरूले बीचमै आरोहण रद्द गरेर फर्किएका थिए । 

यसअघि शव ल्याउन हिमालमा गएको हेलिकप्टर रित्तै फर्किएको थियो ।

संसारको सातौं (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ ।

पर्यटन विभागका अनुसार चालू शरद् याममा रसियाका १४ जनाले मात्र धौलागिरि आरोहणको अनुमति लिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्