२३ असार २०८३, मंगलबार
जहाँ बन्दैछ एमाले कार्यालय

बाढीसँग भाग्दै खोलाकै किनारामा एमाले– मीनबहादुरले दान दिएको जग्गामा पुग्दा जे देखियो [ड्रोन भिडियोसहित]

असोज ३०, २०८१
काठमाडौं

असोज ११ गते राति बल्खु खोलामा आएको बाढीले डुबानमा परेको थियो, कीर्तिपुर नगरपालिका– २ स्थित मैत्रीनगर । बल्खु खोलाको बाढी पसेपछि हिलाम्मे बनेका सडक अहिले घाम लागेर धुलाम्मे छन् । 

बाढी सुकेको १५ दिनपछि भने मैत्रीनगरको परिचय फेरिएको छ । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेको केन्द्रीय कार्यालय भवनको शिलान्यास भएपछि अहिले मैत्रीनगरमा चहलपहल बढ्दो छ । 

कलंकी चोकबाट १ किलोमिटर पश्चिम तथा चन्द्रागिरि नगरपालिकाको तीनथाना ढुङ्गेअड्डाबाट ५ सय मिटर दक्षिणको दूरीमा रहेको मैत्रीनगर यसअघि ओझेलमा परेको थियो ।

कलंकीबाट मैत्रीनगर जाने कोरिडोर सडक अलपत्र छ । अन्य विकासका पूर्वाधार पनि कमजोर नै छन् ।

स्थानीय प्रकाश अधिकारीले एमाले कार्यालयको शिलान्याससँगै अलपत्र रहेका विकास निर्माणका कामले अब तीव्रता पाउने अपेक्षा राखेको बताए ।

‘बल्खु खोलाको किनारा भएकाले यहाँ बाढीको समस्या छ । प्रत्येक वर्ष डुबानमा पर्ने गरेको छ । एउटा राष्ट्रिय दलको कार्यालय बनेपछि यो समस्या समाधान हुने अपेक्षा राखेका छौं, अधुरा रहेका बाटाघाटा पनि अब बन्लान् भन्ने आशा छ,’ अधिकारीले भने । 

तर, बस्ती क्षेत्रमा पार्टी कार्यालय स्थापना गर्न लागिएकोमा स्थानीयहरू सशंकित पनि छन् ।

null

अग्लो भवन बनाउँदा आफूहरूको घर छायाँमा पर्ने, दुई तल्लाको बेसमेन्ट बनाउने भएपछि वरपर इनार सुकेर खानेपानीको अभाव हुने हो कि भनेर स्थानीय चिन्तित देखिन्छन् ।

कीर्तिपुर बर्न अस्पतालभन्दा केही तलको भूभागमा रहेको मैत्रीनगरमा अब धेरै खाली जग्गा बाँकी छैनन् । तर, पनि एमाले कार्यालय शिलान्यास भएपछि घरजग्गा कारोबारीको ध्यान त्यतातिर गएको छ ।

स्थानीयका अनुसार सो क्षेत्रमा जग्गाको भाउ प्रतिआना ३५ देखि ४० लाखमा कारोबार भइरहेको थियो । 

एमाले कार्यालय शिलान्यास भएपछि रातारात प्रतिआना १० लाख रुपैयाँ बढेको चर्चा हुन थालेको अर्का एक स्थानीयले बताए । अहिले जग्गा कारोबारीहरूको चहलपहल बढेको छ ।

कीर्तिपुरका स्थानीय नवराज भण्डारीले एमाले पार्टी कार्यालय आएसँगै आसपासमा जग्गाको मूल्य बढ्न लागेको बताए ।

‘यता त्यति धेरै खाली जग्गा त छैन, तर पनि सरकार चलाएको पार्टीको कार्यालय बन्न लाग्यो, जग्गाको मूल्य १० लाख बढ्यो भनेर कारोबारीहरू सल्बलाएका छन्,’ भण्डारीले भने । 

देशभर भाटभटेनी सुपरस्टोर चलाएका व्यवसायी मीनबहादुर गुरुङले मैत्रीनगरको १० रोपनी १४ आना जग्गा एमालेलाई दान गरेपछि असोज २४ गते अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालय भवन शिलान्यास गरेका थिए ।

व्यापारीले दान गरेको जग्गामा पार्टी कार्यालय बनाउन लागेको भनेर एमालेको आलोचना पनि भइरहेको छ । यो विषयमा सार्वजनिक बहस नै छेडिएको छ ।

असोज २३ गतेसम्म यो क्षेत्रमा झाडी थियो । पार्टी कार्यालय शिलान्यासका लागि डोजर लगाएर जमिन सम्याइएको थियो ।

मीनबहादुरले भाटभटेनी सुपरस्टोरका लागि गोदाम बनाउन यो जग्गा किनेको स्थानीयको बुझाइ छ । एमालेलाई हस्तान्तरण गरिएको १० रोपनीमध्ये कतिपय कित्ताको साइट क्लियर गर्न बाँकी रहेको स्थानीयले बताए । 

नेकपा एमाले कीर्तिपुर नगर कमिटीकी उपसचिव सुमन पोखरेलले राष्ट्रिय पार्टीको कार्यालय कीर्तिपुरमा आएकोमा स्थानीय खुशी रहेको बताइन् । 

‘यो कीर्तिपुरका लागि पनि गौरवको विषय हो । एमालेको कार्यालय आएसँगै यहाँको विकास निर्माणमा टेवा पुग्ने विश्वास हामीले लिएका छौं,’ पोखरेलले भनिन् । 

शिलान्यास भइसकेको स्थानबाट पार्टी कार्यालय अन्यत्र जाने हो कि भन्नेमा पनि स्थानीयको चासो छ ।

null

पार्टी कार्यालय स्थापनाका लागि १० रोपनी जग्गा अन्यत्र फेला पार्न मुस्किल रहेकाले शिलान्यास गरिएको ठाउँमै पार्टी कार्यालय भवन बन्ने एमालेका एक प्रभावशाली नेताले बताए । 

पार्टी कार्यालय शिलान्यास समारोहमा जग्गादाता मीनबहादुर गुरुङले १ वर्षभित्र आधुनिक कार्यालय बनाएर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका थिए ।

मदननगर बल्खुस्थित पार्टी कार्यालय २०७२ सालको भूकम्पले मक्किएपछि एमालेको कार्यालय ३ ठाउँमा सरिसकेको छ । 

बल्खुबाट धुम्बाराहीमा सरेको कार्यालय केही समयपछि थापाथलीस्थित एक व्यवसायीको घर भाडामा लिएर सारिएको थियो ।

थापाथलीको घर साँघुरो भएपछि ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा एमालेको कार्यालय सारिएको थियो । 

बागमती र मनोहराको दोभाननजिक रहेको कार्यालयमा यसपालिको बर्खामा दुईपटक बाढी पसेपछि एमालेले नयाँ केन्द्रीय कार्यालय बनाउने तयारी गरेको हो ।

पुरानो पार्टी कार्यालय रहेको बल्खुमै पार्टी कार्यालय बनाउने भनेर घरको नक्सा समेत बनाइसकिएकोमा साँघुरो ठाउँ भनेर अन्यत्र जग्गा खोजिएको थियो । 

कार्यालयमा बाढी पस्यो भनेर बनाउन लागिएको नयाँ भवन पनि डुबान पर्ने ठाउँमा छ । ९ वर्षअघि बल्खुखोला किनाराबाट विस्थापित भएको एमाले फेरि बल्खु खोला किनारामै फर्किने तरखर गर्दैछ । 

शिलान्यास भएको ठाउँमै पार्टी कार्यालय भवन बनेमा ओझेलमा परेको मैत्रीनगर क्षेत्रमा घाम लाग्नेछ । 

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्