
प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंपछि सरकार परिवर्तन हुने हल्ला निराधार रहेको बताएका छन्।
६९ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा सम्बोधन गर्दै ओलीले सरकार परिवर्तनको हल्लाको पछि नलाग्न सबैलाई आग्रह गरे ।
उनले सरकार परिवर्तनका हल्लालाई लिएर प्रतिप्रश्न गर्दै भने, 'यो सरकार परिवर्तन हुन्छ, २०८४ को दशैँपछि ?'
नेपाली कांग्रेस र नेकपा एमालेको सरकार झण्डै दुईतिहाइको भएकाले तत्काल परिवर्तनको सम्भावना नरहेको बताए ।
'एउटा सरकार मन परेन भने जनताले अर्को सरकार गठन गर्छ। तर चुनावका माध्यमबाट । अलोकतान्त्रिक विधि र अलोकतान्त्रिक बाटोबाट परिवर्तनका कुरा गर्न आवश्यक छैन,' ओलीले भने, 'भन्न चाहन्छु । म सबैलाई आश्वस्त गर्न चाहन्छु। कुनै प्रकारका भ्रमहरूको पछि नलागौं।'
प्रधानमन्त्री ओलीले चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्ने भएकाले चुनावपछि नतिजा जसको राम्रो आउँछ उसैले सरकारको नेतृत्व गर्ने बताए। 'चुनावपछि जो आउँछ त्यसले सरकार बनाउँछ,' उनले भने ।
नेपालको राजनीति नेपालको सभ्यता र नेपालको संस्कृति नेकपा एमाले र नेपाली कांग्रेसको भूमिका ऐतिहासिक रहेको ओलीले बताए।
नेपाल प्रहरी ऐन आगामी संसद् अधिवेशनबाट छिटो पारित गरिने ओलीले प्रष्टीकरण दिए ।
उनले मन्त्रिपरिषद्ले ऐन पारित गरिसकेको र संसद चल्नासाथ ऐन पारित हुने बताए।
उनले स्वतन्त्रता भनेको छाडातन्त्र नभएको र स्वतन्त्रता भनेको झुट बोल्नु, बेइमानी गर्नु होइन भन्ने कुरा सबैले बुझ्न आवश्यक रहेको बताए।
कार्यक्रममा गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पनि सम्बोधन गरेका थिए।