
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सरकार डिजिटल क्षेत्रलाई प्राथमिकतामा राख्दै यसको विस्तार गर्ने पक्षमा रहेको बताएका छन् ।
‘नेपाल रिपब्लिक मिडिया र न्युयोर्क टाइम्स’बीच डिजिटल सहकार्यका लागि आज आयोजित समारोहमा उनले डिजिटल अर्थतन्त्रका कारण रोजगारी सिर्जना भएको, उत्पादकत्व बृद्धि भएको र निर्यातको सम्भावना पनि बढाएको बताए ।
उपप्रधानमन्त्री पौडेलले बढ्दो डिजिटल विज्ञापन र डिजिटल भुक्तानीबारे चर्चा गर्दै नेपाल सरकार यसलाई अझ प्रोत्साहित गर्ने पक्षमा रहेको जानकारी दिए ।
'प्रविधिको विस्तारले नेपालको अर्थतन्त्रलाई विश्वबजारसँग जोडेको छ । नेपालको आईटी क्षेत्रको निर्यात बढ्दै गएको छ । यस्तै निर्यातको सम्भावनाको नयाँ ढोका खुलेको छ,' उनले भने ।
उपप्रधानमन्त्री पौडेलले नेपाल रिपब्लिक मिडिया र न्युयोर्क टाइम्सबीचको डिजिटल सहकार्यका लागि साझेदारीले नेपालको डिजिटल मिडिया परिदृश्यमा नयाँ आयाम थप गर्ने विश्वास व्यक्त गरे ।
साथै उनले डिजिटल मिडियाको सङ्ख्यात्मक वृद्धिसँगै गुणस्तरीय पत्रकारितामा ध्यान दिनुपर्ने आवश्यकतासमेत औंल्याए ।