
कञ्चनपुरको बेलौरी नगरपालिका ४ नम्बर वडा कार्यालयले ज्येष्ठ नागरिकलाई दुई वर्षदेखि तीर्थयात्रा गराउँदै आएको छ ।
वडा कार्यालयले बजेट विनियोजन गरेर देशका प्रमुख तीर्थयात्रामा सरिक गराएको हो ।
चालू आवमा विनियोजन गरिएको रु दुई लाख ५० हजार बजेटबाट २५ जना ज्येष्ठ नागरिक मुक्तिनाथको यात्रामा गएका छन् । यात्रामा सहभागी ज्येष्ठ नागरिक ६८ वर्ष माथिका छन् ।
गत वर्ष ३० जना ज्येष्ठ नागरिकलाई काठमाडौंस्थित पशुपतिनाथ र मनकामना दर्शन गराइएको थियो ।
वडा कार्यालयबाट ज्येष्ठ नागरिकलाई तीर्थयात्रासँगै निःशुल्क स्वास्थ्य शिविर, न्याना लुगा वितरण हुँदै आएको छ ।
ज्येष्ठ नागरिकप्रति समाजले आदर गर्नुपर्छ भन्ने भावनाका साथ बजेट विनियोजन गरिएको वडाध्यक्ष अर्जुन ढकालले बताए ।