
ललितपुरको सातदोबाटोमा रोकेर राखिएको बसमा लागेको आगो नियन्त्रणमा आएको छ ।
ललितपुर महानगरपालिका– १५ सातदोबाटो चोक नजिक रोकेर राखेको अवस्थामा आज अपरान्ह चक्रपथमा चल्ने महानगर यातायातको बा ४ ख १०६ नम्बरको बसमा आगलागी भएको थियो ।
बसमा लागेको आगो १५ मिनेटभित्रै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।
उनका अनुसार सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको बस ‘बस पाकेट’मा रोकेर राखिएको अवस्थामा अचानक तार ‘सट’ भई आगलागी भएको हो ।
बसमा आगलागी भएको खबर प्राप्त हुनासाथ प्रहरी टोली र ललितपुर महानगरपालिकाका दुई वटा दमकल प्रयोग गरेर आगो निभाइएको थियो ।
आगलागीबाट बस पूर्ण रूपमा क्षति भएको छ ।