
पाेखराकाे निषेधित क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विरोध प्रदर्शन गरेपछि झडपको स्थिति पैदा भएको छ ।
ठूलो संख्यामा रहेका प्रदर्शनकारीले आइतवार निषेधित क्षेत्रमा विरोध प्रदर्शन गरेपछि उनीहरू र प्रहरीबीच धकेलाधकेलको स्थिति आएको हो ।
पोखराको सूर्यदर्शन सहकारीको रकम गोरखा मिडियामा ल्याएर अपचलन गरेको आरोपमा रास्वपाका सभापति लामिछानेमाथि संसदीय छानबिन विशेष समितिले कारबाही सिफारिस गरेको थियो । यसैले थप अनुसन्धानका लागि शुक्रवार प्रहरीले लामिछानेलाई पक्राउ गरी पोखरा लगेको हो ।
आइतवार उनलाई म्यादका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएकाे छ ।
तर रास्वपाका केन्द्रीय नेताहरूले विरोधस्वरुप जिल्ला अदालतको गेटमै धर्ना दिएका छन् । डा स्वर्णिम वाग्ले र डा तोसिका कार्कीसहितका नेताहरूले जुलुसलाई निषेधित क्षेत्रतर्फ लगिरहेका छन् ।
सभापति लामिछाने पक्राउपछि रास्वपाले देशभरका कार्यकर्तालाई पोखरामा उतारेको छ ।
रास्वपाका नेता कार्यकर्तामात्रै नभएर पोखरामा सहकारीपीडितले पनि रकम फिर्ताको माग राख्दै विरोध प्रदर्शन गरेका छन् ।