२५ असार २०८३, बिहीबार

माधवको चेतावनी– अरू पार्टीलाई टुक्र्याउने दुस्साहस गरे परिणाम नराम्रो हुनेछ

कात्तिक ५, २०८१
बुटवल
माधवको चेतावनी– अरू पार्टीलाई टुक्र्याउने दुस्साहस गरे परिणाम नराम्रो हुनेछ

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी विभाजन गर्ने अध्यादेश ल्याउने दुस्साहस नगर्न सरकारलाई चेतावनी दिएका छन् । 
सोमबार पार्टी लुम्बिनी प्रदेश स्तरीय विस्तारित बैठकलाई कपिलवस्तुमा सम्बोधन गर्दै अध्यक्ष नेपालले अरूलाई सिध्याउने हिटलरी शैलीलाई परित्याग गर्न घुराउरो शैलीमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका हुन् । 

सरकारले अरू पार्टीलाई टुक्र्याउने दुस्साहस गरे त्यसको परिणाम नराम्रो हुने उनले चेतावनी दिए । ‘आज के सूचना आएको छ भने यो सरकारले अध्यादेश ल्याउन खोज्दै छ रे ! म भन्छु खबरदार ! अरू पार्टीलाई टुक्‌र्याउने दुस्साहस यो सरकारले गर्छ भने त्यसको परिणाम नराम्रो हुनेछ,’ उनले भने, ‘त्यसको परिणाम सरकारले भोग्नुपर्ने हुन्छ । ख्याल होस् अरूलाई सिध्याउँछु भनेर लाग्नेहरू आफैं समाप्त भएर जान्छन् । संसारको इतिहासले बताएको छ । संसारले समाप्त गर्छु भन्ने हिटलर मर्ने बेलामा एक्लो थियो । त्यसैले हिटलरी शैलीलाई परित्याग गर्नुस् ।’ 

आफूहरूमा एमाले वा अध्यक्ष केपी शर्मा ओली कसैसँग पनि बदलाको भावना नभएको उनले बताए । ‘बरू विकास गरेर देखाउनुहोस् । यो देशले विकास गर्न पाएको छैन । देश विकास कसरी गर्ने भन्ने विषयमा हामी सहयोगी बन्छौं । हाम्रो मनमा केपी ओली वा एमाले कसैसँग बदलाको भावना छैन,’ नेपालले भने । 

विचार र मन मिल्नेसँग मोर्चा सहकार्य र हातेमालो गरेर पार्टी अघि बढ्ने उनले बताए । तर, एकता भने नगर्ने नेता नेपालको भनाइ छ । ‘हामी कतै विलीन हुँदैनौं, कसैले माओवादी, कसैले एमालेसँग एकता गर्छ भन्ने अनावश्यकता चर्चा गरेका छन् । त्यसमा सत्यता छैन,’ उनले भने, ‘कसैले पनि  मन खुम्चाउनुपर्ने आवश्यकता छैन । हामी कतै विलीन हुँदैनौं । माओवादी र एमालेसँग विलीन हुँदैनौं ।’ चुनौती धेरै भए पनि पार्टी आफ्नै शक्तिमा उभिएर अघि बढ्दै गएको नेपालले बताए ।

salt training

कमेन्ट गर्नुहोस्