
सामाखुसी यातायात प्रालिले ७ करोडको लागतमा १५ वटा बस सञ्चालनमा ल्याएको छ ।
विक्रम संवत् २०५७ मा काठमाडौं उत्तरी क्षेत्रका नागरिकको सहजताका लागि सेवा प्रदान गर्दै आएको प्रालिले आजदेखि थप १५ बस सञ्चालनमा ल्याएको हो ।
प्रालिका अध्यक्ष सानुकाजी प्रजापति र प्रमुख सल्लाहकार एवं नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका निवर्तमान अध्यक्ष योगेन्द्रनाथ कर्मचार्यले संयुक्त रूपमा बस सेवाको उद्घाटन गरेका हुन् ।
प्रालिका अध्यक्ष प्रजापतिले स्थानीय बासिन्दाको आवश्यकतालाई ध्यानमा राख्दै थप बस सञ्चालनमा ल्याएको जानकारी दिए ।
'काठमाडौं उपत्यकामा यात्रुको अत्यधिक चाप छ, बस थपेसँगै यात्रुलाई सहज हुने विश्वास लिएका छौं,' उनले भने ।
काठमाडौंको उत्तरी क्षेत्रमा बढ्दो जनसङ्ख्या तथा स्थानीय तहको चाहनाअनुसार बस थप गरिएका उनको भनाइ थियो ।
अध्यक्ष प्रजापतिले शुरूआतमा नौ माइक्रोबसबाट सेवा सञ्चालन गरेको सामाखुसी यातायातले हाल ८० माइक्रोबस तथा ५० ठूला बसमार्फत सेवा प्रदान गरिरहेको जानकारी दिए ।
सो यातायातले काठमाडौंको उत्तरी क्षेत्र बानियाँटार, भत्केको पुल, मनमैजु, झोर, टोखा, बसुन्धारा र म्हैपीबाट सेवा दिँदै आएको प्रालिका आर्थिक व्यवस्थापक दीपेन्द्र केसीले जानकारी दिए ।
प्रालिले हाल तीन सय ५० चालक तथा सहचालकलाई रोजगारी प्रदान गरिरहेको उनले बताए ।