
पार्टी सभापति रवि लामिछानेको रिहाइको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरामा तीन दिनदेखि आन्दोलित छ । पार्टीका केन्द्रीय नेताहरू सम्मिलित प्रदर्शनमा दैनिक नारा फेरिएका छन् ।
तेस्रो दिन पृथ्वीचोक र चिप्लेढुंगामा भएको प्रदर्शनमा झण्डै ३ सय जना सहभागी थिए । पूर्वमा भोजपुरदेखि पश्चिम कैलालीसम्मका कार्यकर्ता प्रदर्शनमा सहभागी भएको भेटिए ।
पोखरामा रास्वपाको प्रभाव विस्तार हुन नसकेको जुलुसमा सहभागीको सानो संख्याले देखाउँथ्यो ।
जुलुसमा सहभागी जत्तिकै भीड रमिता हेर्नेहरूको पनि थियो । पसलको पेटीमा बसेर रमिता हेर्दै गरेका बूढापाका ‘जुन दल आए पनि एउटै ड्याङका मुला हुन्’ भन्दै गफिएका थिए ।
कतिपयले भने ‘सहकारीमा गुमेको रकम आउने ठेगान छैन, आन्दोलनमा सहभागी भएर के नै हुने हो र ?’ भनेर प्रश्न गरिरहेका थिए । भीडको बीचमा ‘२०८४ को चुनावमा पनि कांग्रेस–एमालेलाई नै भोट हाल्ने हो र ?’ भन्दै प्रश्न गर्ने युवा पनि भेटिए ।

बीचबीचमा रास्वपा नेताहरूले भीडलाई आश्वस्त पार्ने प्रयास समेत गर्नुपरेको थियो ।
‘हामी रविको पक्षमा मात्रै पोखरा आएका होइनौं, सहकारीपीडितले रकम फिर्ता पाउनुपर्छ भनेर तपाईंहरूलाई साथ दिन आएका हौं,’ उनीहरू भनिरहेका थिए ।
रास्वपा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जीबी राईले सहकारीमार्फत ठगेको पैसाको बोझ रास्वपा सभापति रवि लामिछानेको थाप्लोमा हालेर सरकारले राजनीतिक प्रतिशोध साँध्न खोजेको आरोप लगाए ।
उनले ठगी र संगठित अपराधमा अनुसन्धानका लागि हिरासतमा रहेका छविलाल जोशी बञ्जाडेको समेत बचाउ गर्न भ्याए । छविलाई पनि अन्याय भएको उनको भनाइ थियो ।
रविलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने सरकारी वकिलको जिकिर कपोलकल्पित र हावादारी भएको भन्दै बुर्लाकोटीले प्रमाणबेगर नै छविलाई थुनेकाले रविलाई पनि थुन्नुपर्ने राय सुनेर न्यायालयले समेत अन्याय गरेको आरोप लगाए ।
आइतबार कास्की जिल्ला अदालतले रविलाई ६ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

त्यसक्रममा बुर्लाकोटीले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष समेत गर्न भ्याए । ‘कीर्तिपुरमा बजार लागेको छ । त्यहाँ २ करोडको घडी, १ लाखको जुत्ताजस्ता सामानहरू बिक्रीमा छन्,’ उनले भने ।
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले कीर्तिपुर– २ मैत्रीनगरमा १० रोपनी जग्गा दान दिएर एमालेको केन्द्रीय कार्यालय बनाइदिन लागेको विषयमा उनले व्यंग्य गरेका थिए ।
रास्वपा नेताहरूले रविमाथि छानबिनको ‘विषयलाई कौरव र पाण्डवबीचको महाभारत युद्धसँग समेत जोड्न भ्याएका थिए ।
‘महाभारतमा पनि कौरव र पाण्डवको युद्ध भएको थियो, जीत पाण्डवकै भयो, हामी पनि यो सरकार र ठूला राजनीतिक दलको रवैयाविरुद्ध लडिरहन्छौं, जीत हाम्रै हुन्छ,’ भीडबाट रास्वपाका एक नेताले भने ।

फेरिँदो नारा
शनिबारदेखि एउटै नारामा रटान लगाएका रास्वपा नेताहरूले सोमबार भने सहकारीपीडितलाई आफ्नो पक्षमा ल्याउनका लागि सहकारी ठगहरूको फोटोसहितको ब्यानर प्रदर्शन गरे । रास्वपाको प्रदर्शन अघिल्ला दिनहरूको तुलनामा रक्षात्मक देखियो ।
‘हामी यहाँ रविलाई छुटाउनुपर्छ भनेर आएका होइनौं, अब जुन दिनसम्म सहकारीपीडितले न्याय पाउँदैनन्, त्यही दिनसम्म यो आन्दोलन जारी रहन्छ,’ सांसद तोसिमा कार्कीले पृथ्वी चोकमा जम्मा भएको भीडसामु भनिन् ।
राष्ट्र भक्तिका गीत बजाएर रास्वपाले भीडलाई आफूतर्फ केन्द्रित गर्ने प्रयास समेत गरेको थियो । केही नेताहरू भने कार्यकर्ता तथा प्रदर्शनमा सहभागीसँग फोटो खिज्नमै व्यस्त देखिन्थे ।
प्रमुख सचेतक सन्तोष परियारलगायत नेताहरू चिप्लेढुंगाको प्रदर्शनमा सहभागी भएर फोटो खिचाउनमा व्यस्त देखिएका थिए ।
थकित मुद्रामा देखिएका कार्यकर्ताहरूमा आन्दोलन कति दिन चल्ने हो, आन्दोलनले पार लाग्ला कि नलाग्ला भन्ने दुविधा समेत देखिएको थियो ।

रास्वपाले मंगलबार पनि आन्दोलनलाई निरन्तरता दिने भएको छ । रविको रिहाइ र सहकारी पीडितलाई न्याय नदिलाइ यो आन्दोलन नरोकिने ठोकुवा नेता हरि ढकालले गरे ।
सरकारले राजनीतिक प्रतिशोधका लागि रविलाई प्रमाणविनै मुद्दा चलाएको र यो आन्दोलनले रविको रिहाइ र पीडितलाई न्याय दिलाउने उनले बताए ।
प्रदर्शनमा सहभागी नेता तथा कार्यकर्ताले सहकारी ठगीमा एमाले र कांग्रेसका नेताहरूको पनि संलग्नता रहेको भन्दै रविलाई मात्रै किन प्रतिशोध साँधेको भनेर प्रश्न गरेका थिए ।