२४ जेठ २०८३, आइतबार
सरसर्ती २४ घण्टा

रवि लामिछानेको इन्कारी बयानदेखि बाबुरामको पार्टीको नाम परिवर्तनसम्म

कात्तिक ७, २०८१
काठमाडौं
रवि लामिछानेको इन्कारी बयानदेखि बाबुरामको पार्टीको नाम परिवर्तनसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको दोस्रो दिनको बयान सम्पन्न भएको छ । मंगलबार बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइएको थियो । उनी गत शुक्रबार राजधानीबाट पक्राउ परेका थिए । 

यसैबीच लामिछानेले प्रहरीलाई इन्कारी बयान दिएका छन् । प्रहरीसँगको बयानमा उनले आफूमाथि लागेका आरोप अस्वीकार गरेका हुन् ।
००००
सहकारीको रकम अपचलनको आरोपमा पक्राउ गरी रुपन्देही ल्याइएका गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीसँग मंगलवार लामो बयान लिइएको छ । 

बुटवलस्थित सुप्रिम सहकारीको रकम दुरुपयोगको आरोपमा अनुसन्धानका लागि बुटवल ल्याइएका जोशीलाई झण्डै साढे सात घण्टा लगाएर विभिन्न ५७ वटा प्रश्न सोधेपछि बयान सकिएको हो । 

भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेलको रोहबरमा इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डीएसपी विजयराज पण्डित, अनुसन्धान अधिकृतहरू यमलाल बन्जाडेसहितका प्रहरीहरूले उनीसँग बयान लिएका थिए ।
००००
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)को राष्ट्रिय महाधिवेशन आगामी माघ २५ देखि २७ गतेसम्म काठमाडौँमा हुने भएको छ । 

पोखरामा मंगलबार सम्पन्न पार्टीको प्रथम विधान अधिवेशनले माघ २५ गतेदेखि महाधिवेशन गर्ने पार्टी सचिवालय बैठकको निर्णय पारित गरेको नेसपा गण्डकीका अध्यक्ष किरण थापाले जानकारी दिए ।
००००
मंगलबार महासचिव शंकर पोखरेलले नेताहरू भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोधेका हुन् ।

केन्द्रीय कमिटी सदस्य तिमल्सिनाले पार्टी संस्थापनको निर्णयविरुद्ध किन गएको र विधानको धारा ८१ अनुसार किन कारबाही नगर्ने भन्दै स्पष्टीकरण पत्र आएको जानकारी दिइन् ।
००००
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज जडानमा खटिएका प्राविधिक एवं नेपाली सेनाका जवानलाई सम्मान गरेका छन् ।

गत असोज १२ को बाढीले सिन्धुली र रामेछाप जोड्ने पक्की पुल बगाएपछि सोही स्थानमा द्रुतगतिमा बेलिब्रिज जडान गरी सञ्चालनमा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सडक, पुल सम्बद्ध प्राविधिक तथा नेपाली सेनालाई मन्त्री दाहालले एक समारोहबीच सम्मान गरेका हुन् ।
००००
बाढीपहिरोको वितण्डापछि रोकिएको सत्तारुढ दल नेपाली कांग्रेसको १०० दिने अभियान दुई चरणमा हुने भएको छ । यसअघि असोज ७ देखि पुष १६ गतेसम्मका लागि तोकिएको १०० दिने अभियान हिमाली जिल्लामा लगत्तै र बाँकी जिल्लामा छठपछि हुने भएको हो । 

यसको घोषणा चाँडै हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
००००
ललितपुर महानगरपालिका वडा नम्बर– ५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न प्रहरीले इन्टरपोललाई पत्राचार गरेको छ । 

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को सिफारिसमा नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी)ले इन्टरपोलको महासचिवालयमा पत्राचार गरेको हो।
००००
सभामुख देवराज घिमिरेले संसदीय समितिहरूमा विचाराधीन रहेका विधेयकलाई आगामी अधिवेशनमा पेस गर्न निर्देशन दिएका छन्। 
सिहंदरबारस्थित सभामुखको कार्यकक्षमा मंगलबार बसेको संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरूसँगको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् ।
००००
लगातारको गिरावटपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अङ्कले बढेको छ ।

साताको तेस्रो कारोबारका दिन नेप्से परिसूचक २५.८८ अङ्कले बढेर २६६५.८१ को विन्दुमा अडिएको हो ।
यस दिन बजारमा १ करोड ९ लाख ६२ हजार २८१ कित्ता शेयरको खरिदबिक्री हुँदा ४ अर्ब १७ करोड १६ लाख ६५ हजार रुपैयाँको कारोबार भएको छ ।
००००
ललितपुरको मेडिसिटी अस्पतालमा चिकित्सकको गम्भीर लापरबाहीका कारण बिरामीको मृत्यु भएको दाबीसहित मेडिकल काउन्सिलमा उजुरी परेको छ । साथै, अदालतमा मुद्दा समेत दायर भएको छ ।

मेडिसिटीमा उपचारका क्रममा ६२ वर्षीय ज्ञानप्रसाद रिमालको मृत्यु भएपछि उनका छोरा प्रताप रिमालले कात्तिक ४ गते काउन्सिलमा उजुरी दर्ता गराएका हुन् ।
००००
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले कात्तिक १० गते काठमाडौंमा खबरदारी सभा गर्ने भएको छ । सरकारका गलत कमदको विरोध र गर्नुपर्ने काममा ध्यानाकर्षण गराउन काठमाडौंको प्रदर्शनीमार्गमा खबरदारी सभा गर्ने निर्णय गरिएको माओवादी केन्द्रले जनाएको छ । 
००००
भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको विस्तारा एयरलाइन्सको विमानमा बम नभेटिएको सुरक्षा स्रोतले जानकारी दिएको छ । 

मंगलवार अपरान्ह दिल्लीबाट १५७ यात्रुसहित आएको विमानमा बमको हल्लापछि नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरीले विमानसँगै यात्रुको पनि सर्च गरेको थियो । तर यात्रु, सामान र विमानको खानतलासीसहितको सर्च अपरेसनमा बम र कुनै शंकास्पद वस्तु नभेटिएको हो ।


 

salt training

कमेन्ट गर्नुहोस्