
काठमाडौं महानगरपालिकाले तिहारमा ३५ बढी स्थानमा बिक्रीस्थल तयार गरी फूल बिक्री गर्ने भएको छ ।
गत वर्षभन्दा यस वर्ष व्यवस्थितरुपमा फूल बिक्री गर्न कामपाले बिक्रीस्थल तोकेर तयारी थालेको कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।
हाल ३५ व्यावसायिक भवन (मल)को अगाडि बिक्रीस्थल बनाउने तयारी भइरहेको उनले बताए । प्रमुख पाण्डेका अनुसार किसानले उत्पादन गरेको फूल काठमाडौं महानगरपालिमा रहेको ‘सपिङ मल’को खाली स्थानमा बिक्रीस्थल बनाउने तयारी गरिएको हो । त्यसका लागि मल सञ्चालकसँग छलफल भइसकेको कामपाले जनाएको छ । ‘आगामी कात्तिक १४, १५, १६ र १७ गते कृषकले निःशुल्क रुपमा तोकिएका स्थानबाट फूल बिक्री गर्न पाउने छन्,’ प्रमुख पाण्डेले भने ।
फूल बिक्रीस्थलमा नगर प्रहरीले समन्वय गर्ने कामपाले जनाएको छ । यस वर्षको तिहारका लागि बजारमा ४० लाख सयपत्री फूलको मालाको माग रहेको पुष्प व्यवसायीको भनाइ छ । फ्लोरिकल्चर एसोसिएसनका अनुसार यस वर्ष स्वदेशी उत्पादन २५ लाख माला मात्र छ । बाँकी माला भारतबाट आयात गर्न लागिएको छ ।
नेपालमा विसं २००७ देखि शुरू भएको पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदो छ । उपत्यकाका तीन जिल्लासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ वटा जिल्लामा पुष्प खेती विस्तार भएका छन् ।
व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४४ हजार बढी व्यक्तिले लाभ लिएका छन् । मुलुकभित्र दुई सय २१ हेक्टर क्षेत्रफलमा एक हजार एक सय ८४ व्यवसायीले पुष्पखेती गरेका छन् ।