
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार नियन्त्रण गर्न वर्तमान सरकार निरन्तर लागिपरेको बताएका छन् ।
सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार न्यूनीकरणसम्बन्धी पाँचवर्षे रणनीतिक कार्ययोजनाको मस्यौदासम्बन्धी छलफलमा उनले भ्रष्टाचार नियन्त्रणसम्बन्धी पाँचवर्षे रणनीतिक योजनालाई कडाईपूर्वक कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे ।
“सुशासन कायम गर्न आँट चाहिन्छ । हामीले त्यसको सुरुआत गरेका छौँ”, उनले भने, “त्यागको भावना बोकेर यो सरकार अगाडि आएको छ । जनताबाट उठाएको करबाट सेवासुविधा लिन्न भनेर निर्णय गरेका छौँ ।”
प्रदेश सरकार सुशासन कायम गर्न कठोर भएर अगाडि बढेको बताउँदै उनले मुख्यमन्त्री र मन्त्रीहरूलाई आचारसंहिता लागू गरेर नयाँ सुशासन सुरुआत गरिएको स्पष्ट पारे ।
पाँचवर्षे रणनीतिक योजनामा सुशासन कायम गर्न तथा भ्रष्टाचार नियन्त्रणका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय अनुगमन संयन्त्र निर्माणलाई उच्च प्राथमिकतामा राखिएको छ । यसका साथै भ्रष्टाचार नियन्त्रणका लागि नैतिकता तथा सदाचारिता प्रवर्द्धनलाई पनि जोड दिइएको छ ।