
जीपले ट्याम्पोलाई ठक्कर दिँदा कपिलवस्तुको बुद्धभूमि–२ गोरुसिंगेमा बिहीवार दुई जनाको मृत्यु भएको छ । यस्तै चारजना घाइते भएका छन् ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको बाप्र–०१–०२९ च९१५० नम्बरको जीपले विपरीत दिशाबाट आइरहेको लु१ह ३०९२ नम्बरको ट्याम्पोलाई ठक्कर दिँदा बुद्धभूमि नगरपालिका–१०, जनकपुरका ७२ वर्षीया सरस्वती पासी र ७५ वर्षका सावर केवटको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक वीरबहादुर सुनारले जानकारी दिए ।
गाउँबाट अटो रिजर्भ गरेर सामाजिक सुरक्षा भत्ता लिन गोरुसिंगेस्थित लक्ष्मी सनराइज बैंक गइरहेका बेला बैंकनजिकै दुर्घटना भएको हो । घाइते पासीलाई उपचारका लागि तौलिहवा लैजाँदै गर्दा मृत्यु भएको हो । अर्का घाइते केवटलाई उपचारका लागि बुटवलमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको सुनारले बताए ।
दुर्घटनामा ट्याम्पो चालक ५७ वर्षे लोकबहादुर कुँवर, विद्यावती पासी, भानमती पासी र जवाहिर अहिर घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
घाइते चारै जनाको उपचार बुटवलमा भइरहेको छ । पछिल्लो समय पूर्व-पश्चिम राजमार्गमा दुर्घटनाका घटना बढेका छन् । गाडी तीव्र गतिमा चलाउँदा दुर्घटना बढेको प्रहरीको भनाइ छ ।