२५ जेठ २०८३, सोमबार

बैंकहरूको खराब कर्जा बढ्यो, ४ बैंकले मात्र गरे सुधार

कात्तिक ८, २०८१
काठमाडौं
बैंकहरूको खराब कर्जा बढ्यो, ४ बैंकले मात्र गरे सुधार

वाणिज्य बैंकहरूको खराब कर्जा औसत ३.३२ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २.९०१ प्रतिशत रहेको खराब कर्जा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३.३२ प्रतिशत पुगेको हो । 

गत आर्थिक वर्षको तुलनामा चारवटा बैंकले मात्रै खराब कर्जा घटाएका छन् भने बाँकी १६ वटै वाणिज्य बैंकहरूको खराब कर्जा बढेको छ ।

पछिल्लो समय बैंकहरूसँग पर्याप्त लगानी योग्य रकम हुँदा पनि कर्जा प्रवाह बढाउन सकेका छैनन् । पुरानै कर्जाको रिकभरी हुन नसक्दा खराब कर्जा बढेको बैंकर्सहरूको भनाइ छ । 

पहिलो त्रैमासमा नेपाल एसबीआई बैंक, नबिल बैंक, एभरेस्ट बैंक र हिमालयन बैंकले खराब कर्जा घटाएका छन् । 

नेपाल राष्ट्र बैंकले न्यूनतम् कर्जा नोक्सानीको १ प्रतिशतलाई असल कर्जा, ५ प्रतिशतसम्मको न्यूनतम् कर्जा नोक्सानीलाई सूक्ष्म निगरानी, २५ प्रतिशतसम्म कमसल, ५० प्रतिशतसम्मको शंकास्पद र १०० प्रतिशत न्यूनतम् कर्जा नोक्सानीलाई खराब कर्जाको रूपमा छुटाउनुपर्ने व्यवस्था गरेको छ । जसअनुसार बैंकहरूले कर्जा प्रवाह गरेको ३० दिनसम्म असल कर्जामा वर्गीकरण गरी १ प्रतिशत प्रोभिजन छुट्याउनुपर्ने हुन्छ ।

त्यस्तै, १ महिनादेखि ३ महिनासम्म कर्जाको सावाँब्याज भुक्तानी नभएमा सूक्ष्म निगरानीमा राखी ५ प्रतिशत प्रोभिजन गर्नुपर्छ । 

३ देखि ६ महिनासम्म कर्जाको साँवाब्याज भुक्तानी नभएको कर्जालाई कमसल कर्जामा वर्गीकरण गरी कर्जाको २५ प्रतिशत प्रोभिजन, ६ महिनादेखि १ वर्षसम्म साँवा ब्याज भुक्तानी नगरेको कर्जालाई शंकास्पद कर्जामा राखी ५० प्रतिशत प्रोभिजन गर्नुपर्ने हुन्छ । र, १ वर्षभन्दा बढीको साँवाब्याज भुक्तानी नभएको कर्जालाई बैंकले शतप्रतिशत प्रोभिजन गरी यस्तो कर्जालाई खराब कर्जामा राख्नु पर्छ ।  

कुन बैंकले कति घटाए खराब कर्जा ? 

लक्ष्मीसनराइज् बैंककको खराब कर्जा सबैभन्दा बढी ५.४४ प्रतिशत रहेको बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणले देखाएको छ । लक्ष्मीसनराइज बैंकको खराब कर्जा ०.७५ प्रतिशतले बढेको छ । 

एनएमबी बैंकको खराब कर्जा ०.७९ प्रतिशतले बढेर ३.६३ प्रतिशत पुगेको छ । कुमारी बैंक बैंकको खराब कर्जा पहिलो त्रैमासमा ४.९६ प्रतिशत पुगेको छ । गत वर्षको पहिलो त्रैमासमा ४.८९ प्रतिशत रहेको थियो । 

प्राइम कमर्सियल बैंकको खराब कर्जा १.१९ प्रतिशतले बढेर ४.८६ प्रतिशत पुगेको छ । गत वर्षको पहिलो त्रैमासमा प्राइम बैंकको खराब कर्जा ३.६७ प्रतिशत रहेको थियो, जुन चालू आर्थिक वर्षमा १.१९ प्रतिशतले बढेको हो । 

त्यस्तै, माछापुच्छ्रे बैंकको खराब कर्जा १.१३ प्रतिशत रहेको छ । जुन गत वर्ष १.१२ प्रतिशत रहेको थियो । 

सिटिजन्स बैंकको खराब कर्जा ५ प्रतिशतभन्दा माथि पुगेको छ । पहिलो त्रैमासमा सिटिजन्स बैंकको खराब कर्जा ५.४१ प्रतिशत रहेको छ, जुन गत वर्ष ३.९७ प्रतिशत रहेको थियो ।

यसबाहेक पनि सानिमा बैंक, एनआईसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, नेपाल इन्भेस्टमेन्ट मेघा बैंक, ग्लोबल आइएमई बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक र नेपाल बैंकको खराब कर्जामा सुधार आएको छैन । 

यस्तो छ बैंकहरूको खराब कर्जा :

 null
 

salt training

कमेन्ट गर्नुहोस्