२८ जेठ २०८३, बिहीबार

पाटनको दौवहालःमा रात्रिकालीन व्यापार मेला हुने

कात्तिक ९, २०८१
काठमाडौं
पाटनको दौवहालःमा रात्रिकालीन व्यापार मेला हुने

ललितपुरस्थित पाटनको दौवहालःमा रात्रिकालीन व्यापार मेला हुने भएको छ । 

महानगरपालिकाको वडा नं १६ कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी स्थानीय जात्रा, पहिरन, पहिचान र संस्कृतिलाई उजागर गर्नुका साथै स्थानीय उत्पादनलाई बजारीकरण गर्ने अभिप्रायका साथ कात्तिक ११ र १२ गते साँझ ४ देखि ९ बजेसम्म रात्रिकालीन व्यापार मेला गर्न लागिएको जानकारी दिइएको हो । वडा नं १६ महिला समितिको आयोजनामा यही रात्रिकालीन व्यापार मेला हुन लागेको हो । 

वडा नं १६ का अध्यक्ष निर्मलरत्न शाक्यले पर्यटनको प्रचुर सम्भावना बोकेको सहरमा बसेका स्थानीयलाई आयआर्जनमा जोड्न यो प्रयास महत्त्वपूर्ण हुने बताए । 

अध्यक्ष शाक्यले यसबाट स्थानीय श्रम, सीप र क्षमताको बजारीकरण हुनुका साथै समुदायको आयआर्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। मेलाका समयमा साङ्गीतिक कार्यक्रमसमेत गरिने उनले जानकारी गराए ।

मेलामा स्थानीय हस्तकलाका सामग्री, स्थानीय नेवारी खानाका परिकार समावेश हुने आयोजकले जनाएको छ । जात्रा, पहिरन, हाम्रो पहिचान र संस्कृतिलाई प्रचारप्रसार गर्ने अभिप्रायले हुन लागेको यो कार्यक्रमलाई अझ परिस्कृत गरेर लैजाने अध्यक्ष शाक्यले बताए । आगामी वर्षदेखि मेलालाई व्यवस्थित बनाउन बृहत् रूपमा तालिका बनाएर सञ्चालन गरिने उनले जानकारी गराए।

रात्रिकालीन व्यापार र बजारलाई प्रोत्साहन र प्रवर्द्धन गर्दै हस्तकलाको प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण र पर्यटनको विकास गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको मेला व्यवस्थापन समितिका संयोजक बबिता श्रेष्ठले जानकारी गराइन् ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरलाई ‘स्मार्ट सिटी’ बनाउने अभियानभित्रै ‘पाटन डज नट स्लीप’ योजनालाई पनि समेट्ने र त्यसका लागि आवश्यक पूर्वाधारसहित विपद् व्यवस्थापनलगायत काम गरेरमात्र घोषणा गर्ने बताउँदै आएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्